तेल अभिव (इजरायल), २२ भदौ
गाजामा जारी युद्धको समाचार इजरायली मिडियामा पछिल्ला दिनमा फरक देखिन थालेको छ ।
गत दुई वर्षको अधिकांश समय इजरायली टेलिभिजनहरूले गाजाको पीडाभन्दा इजरायली वीरता, अपहरणमा परेकाहरूका परिवारको दुःख र लडाइँमा मारिएका सैनिकहरूबारे समाचारलाई प्राथमिकता दिएका थिए ।
तर हाल केही च्यानलहरूले कुपोषित बालबालिकाका तस्बिरदेखि लिएर प्यालेस्टिनीहरूको दैनिक जीवनमा भोगिरहेका कठिनाइबारे रिपोर्ट प्रस्तुत गर्न थालेका छन् ।
यो सूक्ष्म परिवर्तन इजरायलमाथि बढ्दो अन्तर्राष्ट्रिय आलोचनाबीच आएको हो, जसले देशभित्रै सैन्य आक्रमण जारी राख्ने कि रोक्ने भन्ने गहिरो विभाजन देखाएको छ । तर बढ्दो प्रदर्शन र मिडिया कभरेजले नीतिमा खासै असर पारेको छैन ।
“यो केवल गाजाको अवस्थाप्रति चासो मात्रै होइन, इजरायलको दृष्टिकोणबाट पनि प्रश्न हो—हाम्रो युद्धको लक्ष्य पूरा गर्ने तरिकाले हामी सही काम गरिरहेका छौँ कि छैनौँ ?”, इजरायलको हिब्रू विश्वविद्यालयका सञ्चार विज्ञ एरान अम्सालेमले भन्नुभयो ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्ध अन्त्यको माग गर्ने व्यापक आन्दोलनलाई बेवास्ता गर्नुभएको छ । सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि दुई वर्ष लामो लडाइँका बीच प्यालेस्टिनीहरूको पक्षमा उठेका आवाजहरू अझै कमजोर बनेका छन् । (रासस÷एपी)








प्रतिक्रिया