अर्थ-वाणिज्य

रौतहटको महेशपुर गाउँ डुबानमा



चन्द्रपुर (रौतहट) २० असोजः

भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा परेको छ । वर्षाका कारण गाउँ जलमग्न छ । रौतहटको राजपुर नगरपालिका–२ मा रहेको महेशपुर गाउँका करिब ५० वटा घरमा पानी परेको वडाध्यक्ष सोनालाल पण्डित कुम्हरले जानकारी दिनुभयो । भारी वर्षाका कारण वडाका तीन सयभन्दा बढी घरमा क्षति पुगेको उहाँको भनाइ छ । पानीले धानबालीमा पनि क्षति पुगेको उहाँले बताउनुभयो ।

विभागका अनुसार सदरमुकाम गौरमा पनि ३१५.० मिलिमिटर वर्षा भएको छ । सदरमुकाम पनि डुबानमा परेको छ । रौतहटकै गरुडा केन्द्रमा पनि ३०४ मिलिलिटर वर्षा भएको उहाँको भनाइ छ । उहाँका  अनुसार गरुडाको गेडहीगुठीलगायतका गाउँ बाढीले जलमग्न छन् । अविरल पानी परेसँगै बागमती, लालबकैया, झाझसहितका नदीमा आएको बाढीका कारण आसपासका अधिकांश भूभाग डुबानमा परेका छन् ।

झाझ नदीमा आएको बाढीका  कारण गौर गङ्गापिपरा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । बाढीबाट दुर्गा भगवती गाउँपालिकाको पाँच वटै वडाका २५ प्रतिशत घरमा क्षति पुगेको उक्त गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले बताउनुभयो । दुर्गा गाउँपालिकामा पनि बाढीका कारण क्षति पुगेको उहाँको भनाइ छ । 

राजपुर नगरपालिका–३ स्थित हुलाकी राजमार्गमा लालबकैया नदीमा  आएको बाढीका कारण उक्त क्षेत्रमा पर्ने सडकमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । 

गुजरा नगररपालिका–८ स्थित लमहा खोलामा पानीको सतह बढ्दा बालचनपुर जङ्गलसैया भित्री सडक बन्द रहेको नगर प्रमुख शन्तलाल चौधरीले बताउनुभयो । वडा नं ९ अमतवास्थित प्रतीक टोलमा अविरल वर्षाका कारण १० वटा घरमा पानी पसेको छ । वृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगरमा बसोबास गर्दै आएका १२८ परिवारलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित : २० आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६