काठमाडौँ, २१ असोज
अविरल वर्षापछि बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मकवानपुरबाट काठमाडौँ जोड्ने प्रमुख सडकखण्ड हेटौँडा–सिस्नेरी–काठमाडौँ र हुमाने–फाखेल–काठमाडौँ सडक पहिरोका कारण अवरुद्ध भएका छन् । उहाँले हाल यी दुई सडकखण्डमा एकतर्फी मात्र सवारीसाधन चल्न दिइएको बताउनुभयो ।
हाल मकवानपुरबाट काठमाडौँतर्फ आउन चाहने सवारीसाधन सिस्नेरी–दक्षिणकाली हुँदै सञ्चालनमा ल्याइएको छ भने काठमाडौँबाट मकवानपुरतर्फ जाने सवारीलाई फाखेल मार्ग हुँदै गन्तव्यमा पठाइएको छ । पहिरो पूर्ण रूपमा नहटेसम्म यस्ता वैकल्पिक व्यवस्थाबाटै सवारी सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
बाढीपहिराकै कारण कान्ति लोकपथमा पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवा र भञ्ज्याङडाँडा तथा बकैया गाउँपालिका–११ सिमात र घट्टेपाखामा पहिरो खस्दा सवारी आवागमन रोकिएको सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार बिपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला, बुलढुङ्गा र मङ्गलटार खोलामा आएको बाढीले सडक कटान गरेकाले आवतजावत अवरुद्ध भएको छ । कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरुणमा खसेको पहिरोका कारण सवारीसाधन चल्न सकेका छैनन् ।
त्यसैगरी पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोका कारण सवारीसाधन चल्न सकेका छैनन् । सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमानास्थित भङ्डारे खोलामा लेदोसहितको बाढी आएकाले आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ चारकिलोमा गएको पहिरोका कारण आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ ।यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पु¥याएकाले सवारी आवागमन अवरुद्ध रहेको जनाइएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थानमा सडकमा खसेको पहिरोले गर्दा सवारी आवागमन प्रभावित भएको प्रवक्ता सुवेदीले बताउनुभयो ।








प्रतिक्रिया