जीवनशैली

रामदत्तिवल क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै



कपिलवस्तु, बाणगंगा – ९

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ९ मा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थल रामदत्तिवल क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्रका रूपमा उभिँदै गएको छ।

प्राकृतिक सौन्दर्य, हरियाली र शान्त वातावरणका कारण यस क्षेत्रले भक्तजन र भ्रमणकर्ताको मन जित्दै गएको छ। धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिने रामदत्तिवल क्षेत्रमा वर्षभरि नै दर्शन, पूजाआजा र धार्मिक अनुष्ठान गर्न देशभित्रका साथै छिमेकी भारतका तीर्थयात्रीहरूको आगमन हुने गरेको स्थानीयहरूले बताएका छन्।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका भक्तजनहरूसँगै भारतको उत्तर प्रदेश राज्यबाट समेत दर्शनार्थीहरू आउने गरेका छन्। उनीहरूका अनुसार यो क्षेत्र शान्त, प्राकृतिक र आस्थाले भरिएको स्थलका रूपमा अनुभूत हुन्छ।

रामदत्तिवल क्षेत्र कोइली बनगाईदेखि करिब चार किलोमिटर उत्तर–पश्चिममा अवस्थित छ। प्राकृतिक बन क्षेत्रभित्र पर्ने यस स्थानमा प्रशस्त हरियाली, स्वच्छ वायुमण्डल र मनमोहक दृश्यका कारण यहाँ पुग्ने जो–कोही आकर्षित हुने गरेका छन्। धार्मिक आस्थाका दृष्टिले पनि यस स्थानले स्थानीय समुदायमा विशेष महत्व राखेको छ।

स्थानीय बासिन्दा, सामुदायिक संस्था र धार्मिक संघसंस्थाहरूले यस क्षेत्रको संरक्षण र प्रचार–प्रसारका लागि सक्रिय पहल थालेका छन्। उनीहरूले सरकारले यो क्षेत्रलाई पर्यटकिय नक्सामा समावेश गरी आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने माग पनि गर्दै आएका छन्।

रामदत्तिवल क्षेत्रमा आवश्यक सडक, सरसफाइ, विश्रामस्थल, सूचनाफलका र धर्मशालाजस्ता पूर्वाधार विकासका काम अघि बढाइने योजना रहेको बाणगंगा नगरपालिकाले जनाएको छ। नगरपालिकाको अनुसार, यस क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका दृष्टिले प्राथमिकतामा राखी विकासका कार्यहरू गर्ने तयारी भइरहेको छ।

धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिने यो स्थलमा प्रत्येक वर्ष स्थानीयवासीहरूले पूजाआजा तथा मेला–पर्वहरू आयोजना गर्ने गर्छन्। ती अवसरमा सयौं भक्तजनको उपस्थितिले यहाँको धार्मिक र सामाजिक वातावरण झनै उल्लासमय बन्ने गरेको छ।

रामदत्तिवल क्षेत्रको ऐतिहासिक र धार्मिक महत्वसँगै यसको प्राकृतिक सौन्दर्यले पनि पर्यटक आकर्षण बढाइरहेको छ। यस क्षेत्रको दीगो संरक्षण, विकास र प्रवर्द्धनका लागि स्थानीय, नगरपालिका र प्रदेश सरकारबीच सहकार्य आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

प्रकाशित : ३ कार्तिक २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६