जीवनशैली

सामाजिक सद्भाव कायम राख्दै पर्व मनाउन नगर प्रमुख अर्यालको आग्रह



कपिलवस्तु, २ कात्तिक ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले यस वर्षको चाडपर्वलाई सामाजिक सद्भाव र आपसी मेलमिलापका साथ मितव्ययी र सरल ढंगले मनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ ।
शनिबार सम्पन्न नगर कार्यपालिका बैठकलाई सम्बोधन गर्दै प्रमुख अर्यालले चाडपर्वहरू देशको सांस्कृतिक पहिचान र परम्पराको जगेर्नासँगै सामाजिक एकता र सहकार्यको सन्देश बोकेका हुने भएकाले सबैले सहिष्णुता र मर्यादासहित पर्व मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “चाडपर्वहरूलाई खर्चिलो र प्रदर्शनमुखी भन्दा पनि सामाजिक एकता, आत्मीयता र सद्भावका रूपमा मनाउन सके त्यसको वास्तविक अर्थ र उद्देश्य पूरा हुन्छ ।”
नगर कार्यपालिकाको निर्णय
बैठकले चालु आर्थिक वर्ष २०८२÷०८३ का निर्णयहरूको समीक्षा गर्दै बदलिँदो परिस्थितिमा सबै निर्णयहरू जस्ताको तस्तै कार्यान्वयन गर्न नसकिएको निष्कर्ष निकालेको छ । नगर प्रवक्ता विष्णु प्रसाद पौडेलका अनुसार संघीय र प्रदेश सरकारबाट प्राप्त भएका परिपत्रहरूको जानकारी गराउँदै बैठकले नगरका आगामी योजना र कार्यक्रमहरूलाई मितव्ययी ढंगले अघि बढाउने निर्णय गरेको हो ।
प्रवक्ता पौडेलले जानकारी दिनुभयो, “नगरपालिकाको सीमित स्रोत र साधनलाई ध्यानमा राख्दै तत्कालका लागि ससाना तथा वितरणमुखी कार्यक्रमहरू स्थगित गरी प्राथमिकताका आधारमा विकास तथा सेवा–सुविधा सम्बन्धी कार्यहरूमा जोड दिने निर्णय गरिएको छ ।”

मितव्ययी ढंगले पर्व मनाउने निर्णय
दीपावली तथा छठ पर्व–२०८२ को अवसरमा नगरवासीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिँदै बैठकले सबै चाडपर्वहरूलाई शान्तिपूर्ण, मर्यादित र सामाजिक सद्भाव कायम हुने गरी मनाउन आग्रह गरेको छ । साथै, देउसी–भैलोका कार्यक्रमहरूबारे जिल्ला प्रशासन कार्यालयबाट समय निर्धारण भएपछि एकरूपता ल्याई सूचना जारी गरिने जानकारी पनि बैठकले दिएको छ ।
नगर प्रमुख अर्यालले बैठकमा बोल्दै नगरको आर्थिक अवस्थालाई सन्तुलित राख्दै जनमुखी विकासका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले योजनाबद्ध रूपमा स्रोत परिचालन गरी नगरवासीको जीवनस्तर सुधारका कार्यहरू अघि बढाइने बताउनुभयो ।
जनमुखी विकास र आर्थिक सन्तुलनमा जोड
प्रमुख अर्यालले नगरपालिकाको आर्थिक स्रोत सीमित भए पनि योजनाबद्ध रूपमा काम गर्दा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भने, “नगरको विकासका लागि हाम्रो प्रतिबद्धता जनमुखी, दीगो र परिणाममुखी छ । यसका लागि आर्थिक सन्तुलन र प्राथमिकतामा आधारित नीति अवलम्बन गरिनेछ ।”
उहाँले आगामी दिनमा नगरको हरेक गतिविधि पारदर्शी, उत्तरदायी र जनहितमुखी हुने उल्लेख गर्दै सबै वडा कार्यालय, कर्मचारी र जनप्रतिनिधिहरूलाई सामूहिक रूपमा जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्नु भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनु भयो ।
सामाजिक सद्भाव र एकताको सन्देश

नगर प्रमुख अर्यालले चाडपर्वहरूलाई समाजमा एकता, मेलमिलाप र सद्भाव बढाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले सबै समुदाय, जातजाति र धर्मका मानिस बीच आपसी विश्वास र सद्भाव सुदृढ हुने गरी पर्व मनाउन अपिल गर्दै भन्नुभयो, “हामी सबैको सहभागिताले मात्रै हाम्रो समाज शान्त, समृद्ध र सहिष्णु बन्न सक्छ ।”


नगर कार्यपालिकाको बैठकले चाडपर्वका अवसरमा हुने कार्यक्रमहरूमा मर्यादित खर्च गर्न, अनावश्यक होडबाजी नगर्न र समाजमा सौहार्द कायम राख्न सबै नगरवासीलाई आग्रह गरेको नगर उपप्रमुख रिता कुमारी चौधरीले बताउनु भयो ।

प्रकाशित : ३ कार्तिक २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६