अर्थ-वाणिज्य

पौवादुङमाको खुर्सानी खेती बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’



भोजपुर, ३ कात्तिक

यहाँको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बन्दै गएको छ ।
यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र अपनाएको प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गर्न थालेको हो । गाउँपालिकामा करिब चार सय हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ । यहाँका करिब नौ सय किसान खुर्सानी खेतीमा आवद्ध रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

खुर्सानी खेतीको अध्ययन, अवलोकन र आवश्यक जानकारी लिन देशका विभिन्न ठाउँबाट किसान र कृषि विज्ञ आउने गरेको किसानको भनाइ छ । हालै सिन्धुली जिल्लाको दूधौली नगरपालिकाका कार्यवाहक प्रमुख नन्दकिशोर थारुसहित कृषि शाखाका कर्मचारीले पौवादुङमा पुगेर खुर्सानी खेतीको स्थलगत अध्ययन गर्नुभएको छ । थारुले यहाँका किसानको बगानमा पुगेर खेती प्रविधि, आम्दानी, तथा देखिएका चुनौतीका विषयमा जानकारी लिएको बताउनुभयो ।

“यहाँका किसानले खुर्सानी खेतीबाट राम्रो आम्दानी लिएको देख्यौँ,” थारुले भन्नुभयो, “यहाँ अपनाइएका प्रविधिबारे जानकारी लिएर हाम्रो स्थानीय तहमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।”
गाउँपालिकाले अकबरे खुर्सानी खेतीमा आवद्ध किसानलाई आवश्यक सहयोग गर्दै आएको छ । गत वर्ष मात्र खुर्सानी बिक्रीबाट रु १८ करोड आम्दानी भएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । “खुर्सानी खेती अहिले अध्ययन केन्द्रको रूपमा विकास भइरहेको छ,” अध्यक्ष भन्नुभयो,“हाम्रो गाउँपालिकामा खुर्सानी खेती मुख्य आम्दानीको स्रोत बनेको छ । यहाँको खुर्सानी खेती हेर्न देशका विभिन्न ठाउँबाट मानिस आउन थालेका छन् । ”

खुर्सानी खेती विस्तारका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई करिब रु ७० लाख बराबरका मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरेको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका स्थानीय किसान ठंगजीत राईले मौसमी तथा बेमौसमी खुर्सानी खेतीबाट वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले ४२ रोपनी जमिनमा करिब ३२ हजार बिरुवा विस्तार गर्नुभएको छ ।

“एक बोटबाट रु २०० सम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो, “प्राविधिक सहयोग र बजार सहज भएकाले यो खेती फाइदाजनक बनेको छ ।”पौवादुङमामा खुर्सानी खेतीले स्थानीय रोजगारीका साथै कृषि पर्यटनको सम्भावना पनि बढाएको किसानको भनाइ छ ।

प्रकाशित : ४ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६