प्रेसपाटी डेस्क, ४ कात्तिक
लुम्बिनी प्रदेशको प्रमुख यातायातीय मार्गका रूपमा रहेको बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाको काम सुरु भएको झण्डै एक वर्ष बितिसक्दा पनि कामको गति सुस्त देखिएको छ । गत वर्ष माघ १० गते शिलान्यास गरिएको सो आयोजनाको हालसम्म भौतिक प्रगति जम्मा १५ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशतमा मात्र सीमित छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि चन्द्रौटा सम्मको ६९ किलोमिटर सडकलाई स्तरोन्नति गर्ने योजनाअनुसार पहिलो चरणमा बुटवल–गोरुसिङ्गेसम्म करिब ५० किलोमिटर सडकमा निर्माण कार्य भइरहेको छ । बाँकी १९ किलोमिटर गोरुसिङ्गे–चन्द्रौटा खण्ड विस्तारको प्रक्रिया सरकारले छिट्टै अघि बढाउने तयारी गरेको जनाएको छ ।
निर्माणाधीन ५० किलोमिटर सडकलाई दुई भागमा विभाजन गरिएको छ—बुटवलदेखि कपिलवस्तुको सीमा क्षेत्र कोठीनदीसम्म २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्म अर्को २५ किलोमिटर। यो सडक विस्तार कार्य पूर्वपश्चिम राजमार्ग निर्माणको करिब छ दशकपछि सुरु गरिएको हो, जसले यस क्षेत्रको यातायात, व्यापार र औद्योगिक आवागमनमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यस आयोजनाको ठेक्का चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनस्थित आशिष निर्माण सेवा जेभीले लिएका हुन् । कुल लागत १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँ रहेको यस आयोजनालाई तीन वर्षभित्र सम्पन्न गर्ने गरी गत असार १३ गते सम्झौता गरिएको थियो ।
आयोजनाका प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार लगातारको वर्षा, जेनजी आन्दोलन, र चाडपर्वका कारण कामदार अभाव हुँदा निर्माण कार्य पछिल्ला महिनामा सुस्त बनेको हो । उहाँले बताउनुभयो, “सामान्यतया करिब आठ सय कामदार रहने ठाउँमा अहिले डेढदेखि दुई सय कामदार मात्रै सक्रिय छन् । काम तीव्र गतिमा हुँदा महिनामा तीनदेखि चार प्रतिशतसम्म प्रगति गर्न सकिन्थ्यो, तर पछिल्ला महिनामा त्यो सम्भव भएको छैन।”

हाल सडक विस्तार अन्तर्गत आरसिसी रिटेनिङ वाल, बक्स कल्भर्ट, अन्डरपास, नाली, पर्खाल र पुल निर्माणका काम तीव्र गतिमा भइरहेका छन् । विभिन्न स्थानमा बक्स ब्रिज, एनिमल क्रसिङ स्ट्रक्चर र फाउन्डेसन कार्यहरू सम्पन्न हुँदैछन् ।
सबैभन्दा महत्वपूर्ण संरचना मानिएको वाणगङ्गा नदीको ३०० मिटर लामो पुल को निर्माण पनि तीव्र गतिमा अगाडि बढाइएको छ । इन्जिनियर न्यौपानेका अनुसार पुलको जटिल फाउन्डेसन संरचना पूरा भइसकेको छ र अब संरचनात्मक जडानका तयारी भइरहेका छन् ।
योजनाको ढिलाइका कारण स्थानीयवासी र सवारी साधन सञ्चालकहरू भने असन्तुष्ट देखिन्छन् । निर्माणका क्रममा बाटोमा धुलो, हिलो र ट्राफिक अवरोधले दैनिक यात्रुहरूलाई समस्या परेको बताइएको छ ।
यद्यपि आयोजना पक्षले आगामी महिनादेखि काम तीव्र गतिमा अघि बढाउने योजना बनाएको जनाएको छ । इन्जिनियर न्यौपानेले आगामी चैतसम्ममा करिब ४० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया