कपिलवस्तु, ७ कात्तिक ।
नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति पाउनुभएका वरिष्ठ प्रहरी अधिकारी उमा प्रसाद चतुर्वेदीलाई उहाँको गृहनगर कृष्णनगरमा शनिबार एक भव्य समारोहका बीच स्वागत गरिएको छ।
स्थानिय समाजका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, उद्योगी–व्यवसायी, बुद्धिजीवी र सर्वसाधारणको उपस्थितिमा आयोजित स्वागत समारोहमा एआईजी चतुर्वेदीलाई फूलमाला, अबिर, खादा र सम्मानपत्रद्वारा अभिनन्दन गरिएको थियो। कार्यक्रम स्थलसम्म उहाँको स्वागतमा निस्किएको भीडले कृष्णनगर बजार क्षेत्र नै उल्लासमय बनेको थियो। युवाहरूले परम्परागत बाजागाजासहित मोटरसाइकल र्याली प्रदर्शन गर्दै एआईजी चतुर्वेदीलाई नगर प्रवेशमा स्वागत गरेका थिए।
कार्यक्रममा वक्ताहरूले इमानदार, अनुशासित र निष्ठावान प्रहरी अधिकारीको रूपमा एआईजी चतुर्वेदीले देखाएको कार्यक्षमता, नेतृत्वगुण र सेवाभावको प्रशंसा गरेका थिए। उनीहरूले चतुर्वेदीको पदोन्नतिले कपिलवस्तु जिल्ला मात्रै होइन, सम्पूर्ण प्रदेश र देशकै गौरव बढाएको बताएका थिए।

एआईजी चतुर्वेदीले स्वागत कार्यक्रममा बोल्दै आफूले पाएको माया, स्नेह र सम्मानले थप जिम्मेवारीबोध गराएको बताउनुभयो। उहाँले जनताको सुरक्षा, शान्ति र कानूनी शासनको प्रत्याभूति दिलाउन आफू सदैव प्रतिबद्ध रहने प्रतिज्ञा गर्नुभयो। उहाँको भनाइमा, नेपाल प्रहरीलाई आधुनिक, पारदर्शी र जनमैत्री संस्थाको रूपमा अघि बढाउन निरन्तर काम गर्ने योजना रहेको छ।
स्वागत समारोहका क्रममा स्थानीय प्रतिनिधिहरूले पनि एआईजी चतुर्वेदीको पदोन्नतिलाई कृष्णनगर र कपिलवस्तु जिल्लाको गौरवको विषयका रूपमा प्रस्तुत गरेका थिए। उनीहरूले जिल्लाका युवाहरूका लागि उहाँको सफलता प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको समापनमा स्थानिय विद्यालयका विद्यार्थीहरूले देशभक्ति गीत र सांस्कृतिक प्रस्तुति पनि दिएका थिए। सभामा उपस्थित जनसहभागिता र उल्लासले कृष्णनगरको परिवेश उत्सवमय बनेको थियो।








प्रतिक्रिया