गण्डकी

नागरिकताको अभिलेखलाई ‘डिजिटाइजेसन’



नवलपुर (नवलपरासी), ८ कात्तिक

चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो तीन महिनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नौ हजार बढीले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका छन् । नयाँ नागरिकता, विद्युतीय राहदानी बनाउनेको सङ्ख्या भन्दा पनि राष्ट्रिय परिचयपत्र बनाउने आउने जिल्लावासीको सङ्ख्या उल्लेख्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो ।

उहाँकाअनुसार जिल्लाबाट गत साउन १ देखि असोज मसान्तसम्म नौ हजार ३१५ जनाको राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गरिएको छ । राष्ट्रिय परिचयपत्रको बनाउने आउनेमा पाँच हजार ४०८ जना महिला तथा तीन हजार ९०७ जना पुरुष रहेका उहाँको भनाइ छ । जिल्लाबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तीव्ररूपमा भइरहेको उहाँको भनाइ छ ।

बैङ्क खाता खोल्नदेखि सरकारी कामका लागि समेत सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गराएपछि जिल्लावासी राष्ट्रिय परिचयपत्र बनाउन आउन लागेका उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय कावासोतीबाट जिल्लावासीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिँदै आएको छ । 

त्यस्तै, यही अवधिमा जिल्लामा नयाँ नागरिकताभन्दा धेरैले राहदानी (पासपोर्ट) बनाएका छन् । गत साउनदेखि असोज मसान्तसम्म जिल्लामा एक हजार ८७१ जनाले नयाँ नागरिकता बनाउँदा तीन हजार ४१२ जनाले विद्युतीय राहदानी बनाएका हुन् । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारीसमेत रहनुभएका शर्माकाअनुसार पछिल्लो तीन महिनामा ९५९महिलाले नयाँ नागरिकता बनाएका छन् । 

त्यस्तै ८८२ जना पुरुषले नयाँ नागरिकता लिएका शर्माले बताउनुभयो । यही अवधिमा जिल्लामा एक हजार ९४९ जना पुरुष, एक हजार ३४५ महिला तथा १२१ नाबालकले विद्युतीय राहदानी लिएका शर्माले जानकारी दिनुभयो । जिल्लावासीले वैदेशिक अध्ययन, रोजगारी तथा घुम्न जानका लागि राहदानी बनाउने गरेका उल्लेख गर्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाबाट राहदानीको फारम भर्ने र चाँडो आवश्यक पर्नेलाई काठमाडौँ पठाउने गरिएको बताउनुभयो । 

गत असोज मसान्तसम्म जिल्लाबाट एक हजार ३३१ पुरुष तथा एक हजार २४८ महिला गरी दुई हजार ५७९ जनाले नागरिकताको प्रतिलिपि लिएका उहाँको भनाइ छ । त्यस्तै ५०० जना जिल्लावासीको नागरिकता स्क्यान गरी नागरिकताको अभिलेख डिजिटाइजेसन गरिएको उहाँले बताउनुभयो । 

प्रकाशित : ९ कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६