विजयनगर (कपिलवस्तु), कात्तिक ८
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले जेन–जी आन्दोलनका घटनाबारे उच्चस्तरीय आयोग गठन गरी निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नु भएको छ ।
शनिबार सिद्धार्थ क्याम्पस, जीतपुर–४ मा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले भदौ २३ र २४ गते भएका घटनामा सत्य तथ्य सार्वजनिक गर्न निष्पक्ष आयोग गठन अनिवार्य भएको बताउनु भएको हो ।
उनले भने, “जेन–जी आन्दोलनका घटनाको यथार्थ पत्ता लगाउन निष्पक्ष उच्चस्तरीय आयोग आवश्यक छ । यसले नागरिकका अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणमा समेत योगदान पु¥याउनेछ । अन्तरिम सरकारले बनाएको आयोगले निष्पक्ष छानबिन गर्न सक्दैन, न त आन्दोलनकारीले न्याय पाउँछन् ।”
ज्ञवालीले एमाले र ओली नेतृत्वको गठबन्धन सरकारमाथि लगाइएका आरोपहरू राजनीतिक प्रपञ्च मात्र भएको दाबी गर्दै पार्टीभित्र कमजोरी भेटिए ढाकछोप नगर्ने स्पष्ट धारणा राखे । उनले निर्दोष जेन–जी आन्दोलनकारीलाई बाह्य शक्ति र दक्षिणपन्थी तत्वहरूले ‘ढाल’ बनाएर प्रयोग गरेको आरोप पनि लगाउनु भयो ।

उनका अनुसार, जेन–जी आन्दोलन केवल एक राजनीतिक अभिव्यक्ति नभई युवाहरूको असन्तोष र अधिकारप्रतिको चेतनाको स्वर हो । “युवाहरूको आवाजलाई राज्यले सुन्नैपर्छ,” उनले जोड दिँदै थपे, “सरकारले घटनाको निष्पक्ष छानबिन गरी सत्यलाई जनतामाझ ल्याउन जरुरी छ ।”
ज्ञवालीले यस्ता आन्दोलन र घटना दोहोरिन नदिन राजनीतिक, सामाजिक र प्रशासनिक स्तरबाट दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए । उनले कार्यकर्ताहरूलाई बाह्य प्रभाव र भावनात्मक उत्तेजनाबाट टाढा रहँदै संगठनमा एकता कायम गर्न र जनताको हक–अधिकारको रक्षा गर्न आग्रह गर्नु भयो ।
ज्ञवालीको भनाइले जेन–जी आन्दोलनबारे जनस्तरमा बढ्दो चासो र राजनीतिक वृत्तमा देखिएको बहसलाई थप बल प्रदान गरेको देखिन्छ । उनले बोलेका कुरा केवल पार्टीको हैसियतमा सीमित नभई लोकतान्त्रिक मूल्य र न्यायप्रतिको जिम्मेवारीका रूपमा पनि व्याख्या गर्न सकिन्छ । कार्यक्रम एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डेको अध्यक्षता जिल्ला सचिव सिवि गहतराजको संचालनमा सम्पन्न भएको थियो ।








प्रतिक्रिया