जीवनशैली

कार्तिक शुक्ल पञ्चमी छठका व्रतालुले गरे खरना



काठमाडौँ, ९ कात्तिक

चार दिने छठ पर्वको दोस्रो दिन आज राति वर्तालुले घरमा खीर बनाइ चन्द्रमालाई अर्पण गरेर खाएका छन् । यसलाई खरना भनिन्छ । वर्तालुले पानी पनि नखाइ व्रत बसेका छन् । यसलाई निर्जल उपवास भनिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बसेका वर्तालुले दोस्रो अर्थात् कार्तिक शुक्ल पञ्चमीका दिनमा आज निर्जल उपवास बसेका हुन् । यस दिन बेलुकी घरमा खीर बनाइ चन्द्रमालाई अर्पण गरी एक छाक खाइन्छ । यसलाई ‘खरना’ भन्ने गरिन्छ ।

 नदी, छठी माता र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने चार दिने छठ पर्व शनिबारदेखि सुरु भएको हो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म नदी, छठी माता र सूर्यदेवको पूजा आराधना गरी मनाइने छठ पर्व राजधानीलगायत मधेस प्रदेशका जिल्लामा हर्षोल्लासपूर्वक मनाइन्छ । 

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको हो । यस क्षेत्रका मानिसले पनि कुनै न कुनै व्रतालु सूर्यदेवको पूजा, आराधना गर्ने गरेकाले कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्मको विशेष अवधिमा सूर्यदेवको पूजा, आराधना गर्न थालेका हुन् ।

विसं २०४६ देखि सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो । विसं २०६३ पछि काठमाडौँको थापाथली, पशुपति क्षेत्रस्थित गुह्येश्वरीबाट गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो ।

रानीपोखरीमा भूकम्पपछिको पुनःनिर्माण सकिएदेखि हाल छठ मनाइँदैन । यसअघिदेखि बागमती र विष्णुमती नदीकिनारमा छठ मनाउने संस्कृति सुरु भएको थियो । राजधानीका नागपोखरी, गहनापोखरीलगायत जलाशयमा पनि छठ मनाउने गरिएको छ ।

छठको मुख्य दिन अर्थात् कार्तिक शुक्ल षष्ठीका दिन पक्वान्न, फलफूल, उखु र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई ‘भिन्सरघाट’ भनिन्छ । 

कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो । 

राजधानीमा गुह्येश्वरीबाट गौरीघाटको बागमती किनारमा छठ घाट निर्माण अन्तिम चरणमा पुगेको गुह्येश्वरी छठ पूजा समितिले जनाएको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको छ । दुवै स्थानमा कात्तिक १० गते बेलुकी राष्ट्रपति रामचन्द्र पौडेलले विशेष पूजा एवं छठ पर्व अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ ।

 यस वर्ष कात्तिक १० गते सोमबार बेलुकी अस्ताउँदो र कात्तिक ११ गते मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने कार्यक्रम रहेको समितिले जनाएको छ । छठ व्रतालु भने कार्तिक शुक्ल षष्ठीको रातभर नदी किनारमै जाग्राम बस्छन् ।

प्रकाशित : ११ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६