अर्थ-वाणिज्य

मङ्गलको आम्दानीको भरपर्दो स्रोत च्याउखेती



अत्तरिया (कैलाली), १० कात्तिक

कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आउनुभएको छ । उहाँले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको हो ।

पाँच वर्षअघि रु ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल दुई कट्ठा जग्गा भाडामा लिएर त्यसमा सातवटा टनेल बनाएर च्याउखेती गरिरहनुभएको छ ।  बाह्रै महिना च्याउ उत्पादन गर्दै आएका उहाँले त्यसबाट मनग्य आम्दानी गरिरहनुभएको छ । चौधरीले भन्नुभयो, “पहिले ज्ञान, सीप कम थियो । छ महिनामात्रै च्याउ उत्पादन गर्थे, बिस्तारै अनुभव पनि बढ्यो । हाल बाह्रै महिना उत्पादन गर्न थालेको छु । आम्दानी पनि राम्रै छ ।”

सातवटा टनेलबाट उत्पादन भएको च्याउ बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु १० लाख आम्दानी हुने उहाँले सुनाउनुभयो । हाल बजारमा च्याउ प्रतिकिलो रु १८० का दरले बिक्री भइरहेको छ । चौधरीले बजारको मागअनुसार च्याउ आपूर्ति गर्न सकिए अझै आम्दानी बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा माग बढी छ । मैले मागअनुसार च्याउ पूर्ति गर्न सकिरहेको छैन । हाद प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु ।”

चौधरी च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने गरेको बताउनुहुन्छ । यसै व्यवसायबाट चार जनाको परिवारको लालनपालन, छोराछोरीको पढाइलेखाइ खर्च राम्रै चलिरहेको र बचत पनि हुने गरेको उहाँले जानकारी दिनुभयो । यसबाटै भएको कमाईबाट च्याउ ढुवानीका लागि एउटा विद्युतीय अटोरिक्सा पनि किनेको चौधरीले बताउनुभयो । 

“आफ्नो परिवारको खर्च धान्ने मात्रै होइन, आठ जनालाई रोजगारीसमेत दिएको छु”, चौधरीले भन्नुभयो, “हाल ज्यालादारीमा दैनिक आठ जनालाई रोजगारी दिएको छु । दैनिक प्रतिव्यक्ति रु छ सयदेखि ७०० सम्म ज्याला दिने गरेको छु ।”

प्रकाशित : ११ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६