कपिलवस्तु, कात्तिक १४
माटोको संरक्षण र दिगो खेतीको प्रवद्र्धनका उद्देश्यले “माटो बचाऔं अभियान” औपचारिक रूपमा सुरु गरिएको छ । अभियानले आगामी दिनहरूमा नीति संवाद, जनचेतना कार्यक्रम र दिगो कृषिप्रति प्रतिबद्धता अभिवृद्धि गर्ने योजना सार्वजनिक गरेको छ ।
अभियानका संयोजक सन्दीप सापकोटाका अनुसार, १५ दिनदेखि १ महिनाभित्र विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । साथै, आउँदो डिसेम्बर २ (अन्तर्राष्ट्रिय माटो दिवस) का अवसरमा विशेष जनजागरण कार्यक्रम आयोजना गरिने सापकोटाले जानकारी दिनु भयो ।

अभियन्ता गणेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा.डा. आनन्दशोभा ताम्राकार, डा. भुवेन्द्र तिवारी तथा पक्लिहवा कृषि क्याम्पसका प्रमुख माटो विज्ञ जन्मजयन गैरेले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सातै प्रदेशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने सामाजिक सञ्जालमार्फत देशभरका ३१ वटा जैविक तथा गडौले मल उत्पादकहरूको पनि सहभागिता रहेको थियो । सहभागीहरूले माटोको उर्वरता ह्रास, रासायनिक मलमा निर्भरता र जैविक विकल्पका सम्भावनाबारे विचार राख्नु भएको थियो ।

कार्यक्रमले विद्यमान अवस्थामा माटो संरक्षण नै कृषि क्षेत्रको मूल आवश्यकता भएको निष्कर्ष निकालेको छ । संयोजक सापकोटाले माटो बचाऔं अभियानलाई राष्ट्रिय स्तरको साझा पहलका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवालालाई दिगो खेती र हरित भविष्यका लागि माटो जोगाऔं भन्ने संदेश दिने स्पष्ट पार्नु भयो ।








प्रतिक्रिया