अर्थ-वाणिज्य

घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग



धनगढी, १५ कात्तिक

घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको माग गर्दै स्थानीयले दबाबमूलक कार्यक्रम आयोजनाको तयारी गरेका छन् ।

धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि काम भइरहेको भनिए पनि हालसम्म कुनै परिणाम नदेखिएपछि स्थानीयले आन्दोलनको तयारी थालेका हुन् ।

टोल विकास संस्थाको अगुवाइमा डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन उनीहरुले अर्को सातादेखि चरणबद्ध रुपमा दबाब दिने तयारी गरेका छन् । केही दिनअघि उनीहरुले वडाध्यक्षको पहलमा स्थानीयको सरोकार सम्बोधन गर्न डिपो प्रमुखको ध्यानाकर्षणसमेत गराएका थिए ।

डिपोसँगै जोडिएको शुभकामना टोल विकास संस्थाका अध्यक्ष दीर्घराज ओझा घनाबस्तीबीचमा रहेको डिपोका कारण सुरक्षा संवेदनशीलता बढेको उल्लेख गर्दै तत्काल डिपो सार्न निगम व्यवस्थापन गम्भीर हुनुपर्ने बताउनुहुन्छ । शुभकामना टोलमा ८७ वटा घरधुरी  छन् । ती घरमा चार सय भन्दा बढी ३५० भन्दाबढी मानिसको बसोबास रहेको छ ।

    “दुई वर्षअघि देखि डिपो स्थानान्तरणको प्रक्रिया अघि बढेको भनिएको छ, तर अहिलेसम्म परिणाम आएको छैन”, अध्यक्ष ओझाले भन्नुभयो, “तत्काल डिपो स्थानान्तरण गरेर स्थानीयलाई ढुक्कसँग बसोबास र पेसा व्यवसाय गर्न सक्ने अवस्था बनाउन आन्दोलनका कार्यक्रम अघि बढाउँदै छौँ ।”

चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पत्तिलाई अहिले रातमा राम्रो निद्रा पर्दैन । घरै अगाडि रहेको निगमको डिपोमा जुनसुकै बेला भवितव्य हुनसक्ने र त्यसबाट ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपर्ने चिन्तामै बाँचिरहनुपरेको उहाँहरु सुनाउनुहुन्छ । डिपोका कारण सधैँ त्रसित अवस्थामा रहनुपरेको गुनासो गर्दै स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक सरोकारवालालाई आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको बताउनुहुन्छ ।   

पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन लोडअनलोड भइरहँदा घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । टोल विकास संस्थाका अध्यक्ष ओझा गतको तिहारमा पटका नपट्काउन अनुरोध गर्दै हिँड्नु परेको सुनाउनुहुन्छ ।

केही वर्ष पहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ । धनगढी–अत्तरिया सडक खण्डमा रहेको डिपो अगाडिबाट दैनिक हजारौँ सवारीसाधन गुड्छन् । नजिकै धनगढी नेत्रालय, सिपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक भवन छन् ।

“कतिबेला के हुन्छ भन्न सकिन्न । डिपोका कारण सधैँको चिन्ता”, टोल विकास संस्थाका अध्यक्ष ओझा भन्नुहुन्छ, “स्थानीयले ढुक्कका साथ जीवनयापन गर्न सकेका छैनन्, घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था छ ।”

केही वर्षअघि डिपोको पूर्वतर्फ रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेका चटकपुरवासीको सम्झनामा ताजै छ । “डिपो नजिकको फर्निचरमा आगो लागेपछि यहाँका स्थानीयमा अब भाग्नुपर्छ भन्ने त्रास बढेको थियो”, त्यसबेलाको त्रास सम्झदै उहाँले भन्नुभयो ।    

डिपोका कारण सुरक्षा चुनौती बढेको जनाउँदै धनगढी उपमहानगरपालिकाले पनि बारम्बार निगमलाई सुरक्षित स्थानमा त्यसलाई स्थानान्तरण गर्न आग्रह गर्दै आएको  नगर प्रमुख गोपी हमाल बताउनुहुन्छ । 

डिपोकै नजिक कक्षा १० सम्म अध्ययन हुने धनगढी प्रज्ञा सदन सञ्चालनमा छ । उक्त विद्यालयमा ४०० बढी विद्यार्थी अध्यनरत छन् ।  विद्यालयका प्राचार्य तीर्थराज फुलारा आफूहरू सधैँ त्रासमा रहेको र असुरक्षित महसुस गरिरहनुपरेको बताउनुहुन्छ । “डिपो स्थानान्तरणको योजना अघि बढेको सुनिएको छ, यो स्वागतयोग्य छ, जतिसक्दो चाँडो यो कार्यान्वयन हुनुपर्छ”, उहाँले भन्नुभयो ।

जग्गा खोजी गर्दैछौँ, पहिचान हुनेबित्तिकै स्थानान्तरण गर्छौं ः कार्यकारी निर्देशक

स्थानीय र सरोकारवालाको दबाबपछि निगमले यसअघि नै धनगढीको डिपो स्थानान्तरण गर्ने योजना बनाएको थियो । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका–३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव अघि बढाए पनि जग्गा खरिदमा भने अन्योल देखिएको थियो ।

त्यसपछि निगमले भण्डारण क्षमता अभिवृद्धि परियोजनाका प्रमुख प्रदीपकुमार यादवको संजोजकत्वमा जग्गा पहिचानको काम अघि बढाएको थियो । समितिले कैलालीको अत्तरिया चोकबाट छ किलोमिटर पूर्वतर्फ पूर्वपश्चिम राजमार्गको उत्तरतर्फको करिब २० बिघा जग्गा डिपो स्थानान्तरणका उपयुक्त रहेको भन्दै प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो ।

निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट जग्गा पहिचानको काम भइरहेको र उपयुक्त जग्गा भेट्टिनेबित्तिकै स्थानान्तरणको प्रक्रिया अघि बढ्ने बताउनुहुन्छ । “उपयुक्त जग्गा नै प्राप्ति हुन सकेको छैन, चार÷पाँच स्थानमा जग्गा खोजी भइरहेको छ । पारदर्शी र मितव्ययी ढङ्गले डिपोे स्थानान्तरणको जग्गा खोजी भइरहेको छ”, उहाँले भन्नुभयो ।

धनगढीस्थित डिपोको लोडिङ क्षमता कम हुँदा टयाङ्करमा तेल भर्न समस्या परिरहेको नेपाल पेट्रोलियम डिलर्स एशोसियसन, सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष जीयालाल आचार्य बताउनुहुन्छ । उहाँले भण्डारण क्षमता बढाउनाका साथै अहिलेको डिपोलाई स्थानान्तरण गरेर सुविधा सम्पन्न बनाउनेतर्फ निगमको ध्यान जानुपर्ने उहाँको भनाइ छ ।

हाल धनगढीस्थित डिपो थोरै जग्गामा बनेको हुँदा अन्य संरचना निर्माण गर्न सम्भव नरहेको तथा दैनिक कार्य सञ्चालनसमेत विभिन्न कठिनाइ भोग्नुपरेको निगमको सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरिदत्त जोशी बताउनुहुन्छ । अहिले डिपो रहेको जग्गा साँघुरो भएकाले भण्डारण क्षमता वृद्धि गर्न तथा ट्याङ्करमा लोडअनलोड गर्न पनि समस्या भइरहेको उहाँको स्वीकारोक्ति छ ।

सरकारले हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्नसक्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने योजना बनाएको छ । सोहीअनुसार सबै प्रदेशमा भण्डारण क्षमता अभिवृद्धिका काम अघि बढेका छन् । अहिलेको भण्डारण क्षमताले सुदूरपश्चिम प्रदेशको एक साताको माग पनि धान्न नसक्ने बताइएको छ ।

एक बिघा आठ कठ्ठामा फैलिएको उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुई वटा भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि ७६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन् ।

धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ ।

विसं २०३७ मा स्थापना भएको सो डिपो अन्य प्रादेशिक डिपोको तुलनामा कम क्षेत्रफलमा सञ्चालनमा रहेको छ । उक्त डिपोबाट अहिले दैनिक १०० किलोलिटर पेट्रोल, ३०० किलोलिटर डिजेल तथा न्यूनमात्रामा मट्टितेल बिक्री हुँदै आएको छ । भारतको बन्थरास्थित इण्डियन आयल कर्पोरेसन (आइओसी)को डिपोबाट कैलालीको गौरीफन्टा नाका हुँदै धनगढी डिपोमा पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ ।

प्रकाशित : १६ कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६