कपिलवस्तु, कात्तिक १६ बाणगंगा नगरपालिकाले सोमबारदेखि जग्गा कित्ताकाट प्रक्रिया पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। आइतबार सम्पन्न नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो।
बैठकले विगतका कार्यहरूको समीक्षा गर्दै कार्यपालिकाका निर्णयहरू कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ। नगरप्रमुख चक्रपाणी अर्यालका अनुसार, यस निर्णयले नगर विकासमा गति ल्याउनेछ र प्रशासनिक सेवामा पारदर्शिता बढाउनेछ।
“नगरको विकास योजना जनताकै सुझाव र प्राथमिकतामा आधारित छन्। अबका दिनमा सेवा वितरणलाई अझ प्रभावकारी बनाउने हाम्रो लक्ष्य हो,” — नगरप्रमुख अर्यालले भन्नुभयो।
त्यस्तै, उप–प्रमुख रिता कुमारी चौधरीले महिलामैत्री कार्यक्रम, सामाजिक सुरक्षा र स्थानीय पूर्वाधार योजनामा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार, समावेशी योजना र महिलाको आर्थिक सशक्तीकरण नै नगरको प्रमुख एजेन्डा हो।
बैठकमा जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख र सरोकारवालाहरूको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो।
प्रतिक्रिया