गण्डकी

मुस्ताङको नरसिंह खोला नुन खानी खोंचमा थुनियो



मुस्ताङ, १७, कात्तिक

यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित नुन खानी खोंचमा पहिरो जाँदा नरसिंह खोला थुनिएको स्थानीय प्रशासनले जनाएको छ । शनिबार रातिदेखि खोला थुनिएर थुनिएको स्थान भन्दा मुनि पानी सुकेको स्थानीयले आइतवार बिहान जानकारी गराएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । “खोलाको पानी पुरै थुनिएको छ, अलिअलि मात्रै रसाएको देखिन्छ,” प्रजिअ भुसालले भन्नुभयो, “आज दिउँसो नेपाली सेनाको ड्रोनमार्फत थुनिएको स्थान खोजी ग¥यौँ, नुन खानी नजिक दुईतर्फी पहिरो गएर खोलाको पानी ताल बनेको पाइयो ।”

सेनाले खोला थुनिएर ताल बनेको स्थानको तत्काल विश्लेषण गर्दा भोलिसम्म ताल नभरिने र नफुट्ने जानकारी प्राप्त गरेको प्रजिअ भुसालले बताउनुभयो । सेनाको ड्रोनमार्फत लिएको तस्बीर हेर्दा खासै ठुलो ताल बनेको जस्तो नदेखिएको उहाँको भनाइ छ । खोलाको पानी सुकेसँगै खोलातर्फको सडकबाट आउजाउ गर्ने सवारी साधन नचलाउन र मानिसलाई ओहोरदोहोर नगर्न जिल्ला प्रशासनले सूचना जारी गरेको छ । वारागुङ–३ स्थित प्राचीन नुन खानी तेताङ गाउँको उत्तर÷पूर्वमा पर्छ । तेताङबाट पैदल एक घण्टा यात्रामा पुग्ने सकिने नुनखानी दुई अग्ला अग्ला विशाल पहाडको खोंचमा पर्छ । 

“थुनिएको खोलाको ताल फुटेर तल छुसाङको तटीय बस्तीमा हुने जोखिम कम भएको हामीले विश्लेषण गरेका छौँ, भोलि बिहान नुन खानीमा पुगेर थुनिएको स्थानलाई निकास दिने विकल्प खोज्छौँ,” प्रजिअ भुसालले भन्नुभयो । सो स्थान छुसाङबाट डेढ घण्टाको पैदल दुरीमा पर्छ ।

प्रकाशित : १८ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६