अर्थ-वाणिज्य

मूल्य खस्किएपछि अदुवा किसान मारमा



घोराही (दाङ), १८ कात्तिक

यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ । यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो । तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खन्नुभएको छैन ।

गत वर्ष यही याममा रु ५५ देखि ६० प्रतिकिलो अदुवा बेच्नुभएका खड्कालाई अहिले बजार भाउले निकै खिन्न बनाएको छ । बजार भाउ रु ३० देखि ३५ रहेका कारण अदुवा खन्ने जाँगर नलागेको उहाँले बताउनुभयो । 

अन्य कृषि बाली छोडेर अदुवा रोप्नुभएका उहाँ यो वर्ष भाउ नपाउँदा निराश हुनुहुन्छ । खड्काले भन्नुभयो, “यो वर्ष अदुवा बिक्रीबाट लगानी पनि नउठ्ने अवस्था छ, बजार भाउ नपाउँदा यो वर्ष अझै खनेको छैन ।” बेमौसमी वर्षाले पनि अदुवामा केही क्षति गरेको उहाँ बताउनुहुन्छ । उहाँले गत वर्ष रु दुई लाखको अदुवा बिक्री गर्नुभएको थियो ।

छिल्लीकोटकै पलबहादुर खड्काले पनि गत वर्ष अदुवाले भाउ पाएको देखेर रु ५० हजारको बीउ किनेर अदुवा लगाउनुभयो । तर अहिले अदुवाको भाउ सुनेर उहाँ पनि निराश हुनुहुन्छ । बीउ किन्दाखेरिकै ५० हजारको सावाँब्याज अहिले रु ६५ हजार पुगेको छ । अदुवाको बीउ किन्दा लिएको ऋणको साँवाब्याज कसरी तिर्ने भन्ने पिरलो उहाँलाई छ । 

बजारमा व्यापारीले सस्तोमा भारतबाट अदुवा भित्र्याउँदा स्थानीयले उत्पादन गरेको अदुवा बिक्री नहुने अवस्था भएको छ । उहाँले भन्नुभयो, “बीउको ऋण तिर्न समस्या छ । अहिलेको अवस्थामा रहेको मूल्यमा अदुवा बिक्री गर्दा ऋण तिर्न पनि पुग्दैन ।” पहाडी क्षेत्रमा जङ्गली जनावरले क्षति नगर्ने र राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानले अदुवा रोप्ने गरेका छन् । तर मूल्य नपाउँदा किसान मर्कामा परेको स्थानीय पूर्णबहादुर पुन बताउनुहुन्छ ।

उहाँका अनुसार यहाँका स्थानीय ३०÷३५ घरले अदुवाखेती गर्ने गरेका छन् ।  छिल्लीकोट क्षेत्रबाट मात्रै वार्षिक ६०० क्विन्टल बढी अदुवा बिक्री हुने गरेको छ । अदुवाको बजारीकरणमा स्थानीय सरकारले सहयोग गरेमा सहज हुने उनीहरूको आशा छ ।

प्रकाशित : १९ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६