कपिलवस्तु, १९, कात्तिक
कपिलवस्तु उद्योग व्यापार संघले पहिलो पटक आयोजना गर्न लागेको “प्रथम कपिलवस्तु कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२” को तयारीले स्थानीयवासीमा उत्साह र गर्व भरिएको छ। महोत्सव मंसिर ५ देखि १७ गतेसम्म वाणगंगा–८ स्थित ऐतिहासिक मायादेवी रंगशालामा सञ्चालन हुने भएको छ।
स्थानियबासीले लामो समयदेखि उपेक्षित रहेको मायादेवी रंगशालामा यस्तो भव्य कार्यक्रम हुन लाग्नु कपिलवस्तुको पहिचानलाई राष्ट्रिय स्तरमा उर्जागर गर्ने अवसर भएको भन्दै खुशी व्यक्त गरेका छन्। वडा वडाध्यक्ष बाबुराम अर्यालका अनुसार, “यो महोत्सवले मायादेवी रंगशालालाई पुनर्जीवित गर्नुका साथै वाणगंगालाई आर्थिक र सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्नेछ। वडाले यसलाई सबै हिसाबले सहयोग गर्नेछ।”
महोत्सवको मुख्य आकर्षण ःकपिलवस्तु डान्स स्टार र स्थानीय उत्पादन प्रदर्शन रहनेछ ।
महोत्सव अन्तर्गत आयोजना हुने ‘कपिलवस्तु डान्स स्टार’ प्रतियोगिताले स्थानीय युवाहरूको प्रतिभा उजागर गर्ने अपेक्षा गरिएको छ। कार्यक्रम संयोजक असिम क्षेत्रीका अनुसार, विजेताले रु. १,११,१११ को आकर्षक पुरस्कार प्राप्त गर्नेछ। यससँगै प्रदर्शनीमा कृषि सामग्री, घरेलु उत्पादन, हस्तकला, प्रविधि, उद्योग र पर्यटनसम्बन्धी प्रदर्शनहरू हुनेछन्, जसले स्थानीय उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष व्यापारिक सम्बन्ध विस्तार गर्नेछ।
स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा
वाणगंगा–८ का वडा सदस्य तथा उद्यमी विश्वास जिसीले संघीय सरकारले चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँको पूर्वाधार विकास बजेट छुट्याएको बताउँदै, “महोत्सवले शिथिल अर्थतन्त्रमा नयाँ गति दिनेछ, मायादेवी रंगशाला पनि स्तरिय बनाउने योजनामा छौं,” भन्नुभयो। उद्योग व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल (कपिल) का अनुसार,“यो महोत्सव कपिलवस्तुको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा मीलका पत्थर बन्नेछ। यसले स्थानीय उद्योगी, व्यापारी, किसान र उद्यमी बीच सहकार्य र नेटवर्किङको नयाँ ढोका खोल्नेछ।”

उद्देश्य स्थानीय विकास र व्यवसायिक एकता, महोत्सवले कपिलवस्तु र छिमेकी जिल्लाका व्यवसायी, कृषक र उपभोक्तालाई एउटै मञ्चमा ल्याएर ‘स्थानीय उत्पादन, स्थानीय बजार’ अभियानलाई सशक्त बनाउने लक्ष्य राखेको छ। यस कार्यक्रमले रोजगार सृजना, पर्यटन प्रवद्र्धन र सांस्कृतिक संरक्षणमा समेत योगदान दिने अपेक्षा गरिएको छ। उद्योग व्यापार संघ, कपिलवस्तुले आयोजना गर्ने महोत्सव मंसिर ५ देखि १७, २०८२ सम्म मायादेवी रंगशाला, वाणगंगा–८, कपिलवस्तुमा हुनेछ ।








प्रतिक्रिया