कपिलवस्तु, १९ कात्तिक
कपिलवस्तुको ऐतिहासिक तथा पवित्र स्थल लक्ष्मणघाटमा यस वर्ष पनि परम्परागत पूर्णिमा मेला तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना हुँदैछ। लक्ष्मणघाट बोलबमधाम विकास समितिको आयोजनामा कार्तिक १९ देखि २१ गतेसम्म सञ्चालन हुने यो मेला धार्मिक श्रद्धा, सांस्कृतिक सम्पदा र लोक परम्पराको सुन्दर संगमका रूपमा चिनिन्छ।
सय वर्षभ न्दा अघिदेखि निरन्तर रूपमा मनाइँदै आएको यस मेलामा कपिलवस्तु, अर्घाखाँची, प्युठान, रुपन्देही लगायतका जिल्लासँगै छिमेकी मुलुक भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी हुने परम्परा रहँदै आएको छ। समितिका अध्यक्ष तथा मेला मुल आयोजक संयोजक रणबहादुर काउचाका अनुसार, मेलालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न विषयगत उपसमितिहरू गठन गरिएका छन्।
सहसंयोजकमा तेजबहादुर थापा रहेका छन् भने सहआयोजक संस्था लक्ष्मणघाट सामाजिक विकास केन्द्रका उपाध्यक्ष अञ्जित खनालले मेला तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।

पूर्णिमाको अवसरमा विशेष गरी थारु समुदायका भक्तजनहरूले बाणगंगा नदीमा स्नान गरी गौपूजन, कथा वाचन, दान र मुण्डन संस्कार गरी धार्मिक आस्था व्यक्त गर्ने गर्दछन्। समयसँगै यो पर्व सबै समुदायले साझा उत्सवका रूपमा मनाउने परम्परा बनेको वडा नं. ६ का वडाध्यक्ष करुण टण्डनले बताउनु भयो ।
आयोजक समितिले यस वर्षको मेलामा करिब २० हजार दर्शनार्थीको उपस्थितिको अपेक्षा गरेको छ। यस्तै, पवित्र स्थल रामघाटमा पनि मेलाको उत्साहपूर्ण माहोल देखिएको छ । जहाँ भक्तजनहरूको भीड र आस्थाको वातावरणले सम्पूर्ण क्षेत्रलाई धार्मिक र सांस्कृतिक रौनकले भरिएको बनाएको छ।








प्रतिक्रिया