बाणगंगा, कात्तिक २०
लुम्बिनी प्रदेशमा जलवायु परिवर्तनका जोखिम घटाउने र दिगो विकासका उपायहरू पहिचान गर्ने उद्देश्यका साथ “प्रदेश र स्थानीय सरकारहरूको भूमिका तथा जिम्मेवारी” विषयक एक विशेष अध्ययन–कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जलवायु परिवर्तनका प्रभाव, चुनौती, सम्भावना र समाधानका उपायहरूमा विस्तृत छलफल गरिएको थियो। प्रदेश तथा स्थानीय तहहरूका अधिकार, जिम्मेवारी र संस्थागत क्षमताको मूल्याङ्कन गर्दै भविष्यका कार्यदिशा तय गर्न कार्यक्रमले महत्त्वपूर्ण सन्देश दिएको छ।
कार्यक्रममा सहभागी विज्ञ, जनप्रतिनिधि र सरोकारवालाहरूले जलवायु परिवर्तनका असरलाई न्यून पार्न स्थानीय सरकारको भूमिका निर्णायक रहेको बताएका थिए। छलफल स्थानीय तहमा नीति, योजना र कार्यान्वयन क्षमताको सुदृढीकरणका उपायमा केन्द्रित रह्यो।
संस्थागत क्षमताको मूल्याङ्कनसँगै जलवायु–संवेदनशील जल व्यवस्थापन, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, र वित्तीय व्यवस्थापनका विषयमा पनि गहन समीक्षा गरिएको थियो। सहभागीहरूले जलवायु परिवर्तनले कृषिजीविकामा पार्ने असर, पानीको अभाव, भू–विविधता र ग्रामीण–सहरी संरचनाबीचको अन्तरसम्बन्धबारे व्यवहारिक विश्लेषण प्रस्तुत गरे।
कार्यक्रममा प्रस्तुत निष्कर्षअनुसार जलवायु जोखिम घटाउन र दीगो स्थानीय विकासलाई अगाडि बढाउन “उत्थानशील जीविकोपार्जन” को अवधारणा प्रभावकारी माध्यम बन्न सक्ने निष्कर्ष निकालिएको थियो। सहभागीहरूले जलवायु जोखिमसँग जुध्नका लागि दीगो कृषि, जलस्रोतको संरक्षण, र समुदाय–आधारित चेतनामूलक अभियानलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

विज्ञको अभिमत विषय विज्ञ डा. पपुलर जेन्टलले कार्यक्रमलाई सहजीकरण गर्दै जलवायु अध्ययनका गुणात्मक पद्धति र त्यसको व्यवहारिक उपयोगबारे प्रष्ट पार्नु भयो । उहाँले
“नेपालको भौगोलिक विविधता, ग्रामीण–सहरी मिश्रण र प्राकृतिक स्रोतमा निर्भर जीवनशैलीका कारण जलवायु जोखिम व्यवस्थापनलाई स्थानीय तहमै जोडिनु जरुरी छ।”
उहाँका अनुसार अध्ययनले बाणगंगा जस्ता नगरपालिका तथा गाउँपालिकाहरूमा जलवायु सचेतना, योजना निर्माण र अनुगमन प्रक्रियामा प्राविधिक क्षमता वृद्धि आवश्यक देखाएको छ।
नगर प्रमुख अर्यालले “जलवायु जोखिम अहिलेको प्रमुख विकास चुनौती हो। हामीले स्थानीय तहमै योजना निर्माण र प्रदेश तथा संघिय सरकारसंगको सहकार्यमा स्रोत परिचालन मार्फत यसको समाधान खोज्नुपर्छ।” विचार राख्नु भयो ।

कार्यक्रमले सामूहिक निष्कर्षमा जलवायु जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारबीच सहकार्य विस्तार गर्ने, जलवायु अनुकूल योजना निर्माणमा नागरिक सहभागिता बढाउने र दिगो वातावरणीय सन्तुलन कायम राख्ने नीति तयार गर्न सुझाव दिइएको थियो।
कार्यक्रमले जलवायु सचेतना र नीति निर्माणमा प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ पार्दै, दीगो विकासका लागि समन्वित दृष्टिकोण आवश्यक रहेको सन्देश दिएको छ।
कार्यक्रम बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षता, डा. जेन्टलको सहजीकरण र वन, वातावरण, विपद् तथा फोहोरमैला व्यवस्थापन शाखा प्रमुख नविन पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, स्थानीय वन, खानेपानी र सहकारी संस्थाका प्रतिनिधि, साथै नागरिक अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो।








प्रतिक्रिया