ब्रेकिंग न्युज

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’



ढोरपाटन (बागलुङ), २२ कात्तिक
बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि नश्ल सुधार कार्यक्रमलाई सुरु गरेको छ ।

पालिकाका करिब ९० प्रतिशत किसानले गाईभैँसी पालन गर्दै आए पनि व्यावसायिक रूपमा दूध उत्पादनमा लागेका छैनन् । किसानलाई दूध उत्पादनमार्फत आयआर्जनसँग जोड्न नश्ल सुधार कार्यक्रम सुरु गरेको हो ।

नगरपालिकाले नश्ल सुधार कार्यक्रम सुरु गरेपछि अहिलेसम्म ३३५ गाई र भैँसीमा निःशुल्क कृत्रिम गर्भाधान सम्पन्न भइसकेको पशु सेवा शाखा प्रमुख डा अच्युत आचार्यले जानकारी दिनुभयो । नश्ल सुधार कार्यक्रमले पशुपालक किसान उत्साहित भएको उहाँको भनाइ छ । यो कार्यक्रमले जैमिनीका गाउँ–गाउँमा दूधको उत्पादन वृद्धि हुने र आत्मनिर्भर बनाउने डा आचार्यल बताउनुभयो ।

उहाँका अनुसार जैमिनीमा बर्सेनि करिब ५० लाख लिटर दूध उत्पादन हुँदै आएको छ । यसलाई बढाउने र किसानलाई आयआर्जनसँग जोड्दै जाने गरी यस वर्षदेखि नश्ल सुधार कार्यक्रम सुरु गरेको उहाँले बताउनुभयो । नगरपालिकाले नश्ल सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु छ लाख विनियोजन गरेको छ । नगरपालिकाभर हाल १५ हजार गाई भैँसी रहेको तर सबै किसानले व्यावसायिक रूपमा दूध उत्पादन नगर्ने डा आचार्य बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “नश्ल सुधार कार्यक्रमले पशुपालक किसानलाई जोड्ने र व्यवसायप्रति आकर्षित गर्छ, यहाँका धेरै किसानले गाईभैँसी पाल्दै आउनुभएको छ, तर नश्ल सुधारतर्फ धेरैको ध्यान गएको छैन, नश्ल सुधारपछि उत्पादन बढ्ने छ, किसानको माग अनुसार अहिले नश्ल सुधार गरिरहेका छौँ ।”

स्थानीय कृषक विकास पौडेलले नगरपालिकाले सुरु गरेको नश्ल सुधारबाट आफूहरूलाई ठूलो टेवा पुगेको बताउनुभयो । पहिले एउटा कृत्रिम गर्भाधान गराउँदा रु एक हजारदेखि रु एक हजार ५०० तिर्नु परेको भन्दै अहिले नगरपालिकाले निःशुल्क सेवा दिएको उहाँको भनाइ छ । नश्ल सुधार कार्यक्रमले आफूजस्ता सयौँ किसानलाई दूध उत्पादन बढाउन सहज हुने पौडेलले बताउनुभयो ।

नगरपालिकाले किसानका लागि हरेक वर्ष नयाँ कार्यक्रम ल्याउने गरेको छ । गत वर्ष ‘किसान कल सेन्टर’ सञ्चालन गरेको थियो । जसबाट किसानका वस्तुभाउ बिरामी भए फोनबाटै समस्या नगरपालिकामा राख्न सक्थे र उपचारका लागि पशु प्राविधिक किसानका गोठमै पुग्ने गर्थे । सस वर्ष भने उत्पादनलाई बजारीकरण गर्न कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ ।

प्रकाशित : २३ कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६