कुलराज भुसाल
कपिलवस्तु, ३ असोज
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर–५ कोपवा स्थित माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड २८ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा शनिबार बैदौलीस्थित कपिलवस्तु ज्ञानज्योति शिक्षा सदनको प्राङ्गणमा भव्य रुपमा सम्पन्न भएको हो ।
‘फजुल खर्च कटौती गरौँ, बचत गर्ने बानी बसालौँ’ भन्ने मूल नारासहित वि।सं। २०५३ मा २० जना सदस्यबाट प्रतिव्यक्ति २० रुपैयाँका दरले बचत संकलन गर्दै स्थापना भएको संस्थाले आफ्नो तीन दशकको यात्रमा उल्लेखनीय प्रगति गरेको विवरण सभारण सभा मार्फत सार्वजनिक भएको छ ।

ग्रामीण क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी उद्यमशीलताको विकासमार्फत सदस्यहरुमा आर्थिक समृद्धि ल्याउने उद्देश्यले स्थापनाको भएको यस संस्थाले करिब तीन दशकको अवधिमा सदस्य संख्या, बचत संकलन, कर्जा लगानी तथा वित्तीय सेवाको दायरा व्यापक रुपमा विस्तार गरेको विवरण साधारण सभामा प्रस्तुत भएको छ ।

साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार कुल शेयर सदस्य संख्या ४ हजार ३ सय ६ पुगेको छ । जसमा २ हजार २३ जना पुरुष सदस्य छन् भने २ हजार २ सय ८३ जना महिला सदस्य रहेका छन् । संस्थाले हाल २६ करोड ९६ लाख रुपैयाँभन्दा बढी बचत संकलन गरी २१ करोड ११ लाख रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
संस्थाको शेयर पुँजी २ करोड ३५ लाख २५ हजार रुपैयाँ, जगेडा कोष ३ करोड ३३ लाख ६४ हजार ६ सय ५३ रुपैयाँ र कुल सम्पत्ति ३५ करोड १३ लाख १४ हजार २ सय २९ रुपैयाँ पुगेको छ। आर्थिक वर्षमा संस्थाले ५७ लाख ३१ हजार ६ सय १४ रुपैयाँ मुनाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले १४ प्रकारका बचत योजना सञ्चालन गर्दै आएको छ । बचतकर्तालाई औसत ३।६ प्रतिशत ब्याजदर प्रदान गर्दै आएको संस्थाले कर्जामा औसत ८।९६ प्रतिशत ब्याजदर कायम गरेको जनाएको छ।
साधारणसभामा सचिव पंकज पाण्डेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष विन्दु अर्यालले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक प्रकाश विकले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै संस्थाका अध्यक्ष भुसालले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। अध्यक्ष भुसालद्वारा प्रस्तत नीति तथा कार्यक्रममा सदस्य विस्तार, शेयर पूँजी विस्तार, बचत निक्षेप तथा ऋण लगानी विस्तार, उत्पादन तथा सेवाको प्रवद्र्धन र विकास, शिक्षा, तालिम भ्रमण तथा क्षमता अभिवृद्धि, संस्थागत विकास, विस्तार र सहकार्य, समाजिक उत्तरदायित्व, प्रोत्साहन र सम्मान, सूचना, सञ्चार तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले सहकारी संस्थाहरू बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई सदस्यलाई उत्पादन, उद्यम र स्वरोजगारसँग जोडिनुपर्ने बताउनुभएको थियो।

स्थानीयस्तरमा संकलित पुँजीलाई स्थानीय अर्थतन्त्रको विकासमा परिचालन गर्न सके रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा योगदान पुग्ने उहाँको भनाइ थियो । उपप्रमुख चौधरीले बाणगंगा नगरपालिकामा रहेको ६५ वटा सहकारी संस्थाहरु मध्ये माउण्ट एभरेष्ट सहकारी उत्कृष्ट ५ भित्र पर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा संस्था अझ उत्कृष्ट ढंगले अगाडि बढ्नेमा आफु विस्वस्त रहेको बताउनुभयो ।
राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य युवराज पोख्रेलले सहकारीको दिगोपनाका लागि सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र सदस्यकेन्द्रित सेवा महत्वपूर्ण हुने बताउनुभएको थियो।

सदस्यको विश्वास कायम राख्न नियमित लेखापरीक्षण, प्रभावकारी जोखिम व्यवस्थापन र संस्थागत पारदर्शितालाई प्राथमिकता दिनुपर्ने उहाँले उल्लेख गर्नुभएको थियो ।
बाणगंगा–५ का वडाध्यक्ष दुनिका भुसालले ग्रामीण समुदायमा सहकारीले पु¥याएको वित्तीय पहुँच महत्वपूर्ण रहेको बताउँदै स्थानीय आवश्यकता र सम्भावनाका आधारमा सदस्यलाई उद्यमशील बनाउन थप कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको थियो।

बाणगंगा–६ का वडाध्यक्ष करुण टन्डनले बचत गर्ने संस्कारलाई आर्थिक विकाससँग जोड्दै साना उद्यम तथा स्वरोजगारका क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका स्तरीकरण अधिकृत नारायण बेल्बासेले सहकारीको वित्तीय स्वास्थ्य मजबुत बनाउन संस्थागत क्षमता विकास, आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभएको थियो।

सदस्यको बचतको सुरक्षा र उचित परिचालन सहकारीको प्रमुख दायित्व भएको उहाँको भनाइ थियो।
संस्थाले सधारण सभाको अवसरमा ज्येष्ठ सदस्य र जेहेन्दार विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो ।
संस्थाले प्रविधिमैत्री वित्तीय सेवालाई प्राथमिकता दिंदै ‘माउण्ट एभरेष्ट स्मार्ट एप’मार्फत मोबाइल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको संस्थाले रेमिट्यान्स, फन्ड ट्रान्सफर, फोन पे, विद्युत् महसुल भुक्तानी, मोबाइल तथा डिसहोम रिचार्जलगायतका सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले हाल बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकालाई मुख्य कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।









प्रतिक्रिया