अर्थ-वाणिज्य

बुटवलमा पाँचतारे ‘हायात प्लेस’ होटल सञ्चालन प्रदेशको आर्थिक र पर्यटन विकासमा नयाँ युगको सुरुवात



बुटवल, कात्तिक २४

नेपालको पश्चिमी आर्थिक केन्द्रका रूपमा विकसित बुटवलले अब पाँचतारे आतिथ्य सेवा प्राप्त गरेको छ । आधुनिक सुविधा र अन्तर्राष्ट्रिय स्तरको सेवा व्यवस्थासहित ‘हायात प्लेस बुटवल’ होटल औपचारिक रूपमा सञ्चालनमा आएको छ । यससँगै बुटवलले प्रदेशस्तरमा मात्र होइन, राष्ट्रिय आर्थिक नक्सामा पनि नयाँ पहिचान निर्माण गरेको छ ।
विश्वप्रसिद्ध हायात ग्रुप अन्तर्गतको यो होटल लुम्बिनी प्रदेशमा सञ्चालनमा आएको पहिलो पाँचतारे होटल हो । अत्याधुनिक सेवाको होटलको लागत करिव ३ अर्व ५० करोड रहेको श्रोतको दावि छ । अन्तर्राष्ट्रिय मापदण्डका कोठा, सम्मेलन हल, स्विमिङ पुल, फिटनेस सेन्टर, रेस्टुरेन्ट लगायतका सुविधा सम्पन्न यो होटलले स्थानीय तथा विदेशी पर्यटकलाई उच्चस्तरीय सेवा दिने अपेक्षा गरिएको छ ।


होटलको सञ्चालनले लुम्बिनी प्रदेशको पर्यटन र व्यावसायिक प्रवद्र्धनमा ठोस प्रभाव पार्ने विश्वास गरिएको छ । बुटवललाई लुम्बिनी, तिलौराकोट, पाल्पा, र कपिलवस्तु जस्ता ऐतिहासिक तथा धार्मिक गन्तव्यहरूमा जाने ‘गेटवे सिटी’का रूपमा परिचित गराउने अभियानमा यो होटल महत्वपूर्ण मोड बनेको छ ।
‘हायात प्लेस’ सञ्चालनसँगै बुटवलमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारीका अवसर बढ्ने अपेक्षा गरिएको छ । होटलसँग सम्बन्धित आपूर्ति श्रृंखला, यातायात, टुर एजेन्सी, हस्तकला र कृषि उत्पादका बजारमा समेत नयाँ सम्भावनाको ढोका खुलेको छ । व्यवसायीहरूको भनाइमा, यस्तो लगानीले बुटवललाई प्रदेशको आर्थिक राजधानीका रूपमा सुदृढ बनाउन सहयोग पु¥याउनेछ ।
स्थानीय व्यवसायी प्रेमराज ज्ञवालीका अनुसार, “हायात प्लेस बुटवलको आगमनले प्रदेशमा गुणस्तरीय पर्यटन सेवा सुरु भएको संकेत मात्र होइन, अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास पनि बढाएको छ ।”
यो होटलको सुरुवातले बुटवललाई भौतिक पूर्वाधार, लगानीमैत्री नीति र व्यावसायिक वातावरणका हिसाबले नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावना देखिएको छ । यसले प्रदेशको विकासमा निजी क्षेत्रको योगदान कति निर्णायक हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
लुम्बिनी प्रदेश सरकारका एक अधिकारीका शब्दमा, “हायात प्लेस जस्ता परियोजनाले प्रदेशको आर्थिक रूपान्तरणको बाटोमा स्थायित्व र विश्वास थपेका छन् ।”
होटलको सफल सञ्चालनले बुटवललाई आधुनिक, आकर्षक र विश्वस्तरीय सहरतर्फ अघि बढाउने संकेत दिएको छ । यसबाट निस्कने आर्थिक र पर्यटन लाभले प्रदेशको समृद्धिको यात्रा थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित : २५ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६