ब्रेकिंग न्युज

स्वास्थ्य क्षेत्रका कार्यक्रम र बजेटमा दोहोरोपना हटाउनुपर्नेमा जोड



पाटन (ललितपुर), २५ कातिक
स्वास्थ्य सेवाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम र बजेट तर्जुमामा हुने दोहोरोपना हटाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

जनस्वास्थ्य कार्यालय ललितपुरले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८१÷८२ मा सम्पादित कामहरूको समीक्षा एवम् योजना तर्जुमा गोष्ठीमा सहभागी अधिकांशले दोहोरोपनको समाधान गर्दै प्रविधिमैत्री सेवा र नागरिकलाई सहज सेवाका लागि तालिम प्राप्त जनशक्ति आवश्यक रहेकामा जोड दिएका हुन् ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले स्वास्थ्यसम्बन्धी योजना र कार्यक्रमहरू तय गर्दा स्थानीयको आवश्यकताअनुसार तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । “स्वास्थ्य र शिक्षालाई एकद्वार प्रणालीमार्फत सेवा दिने व्यवस्था हुनुपर्ने हो, अझै पनि धेरै नागरिकहरूले प्रभावकारी स्वास्थ सेवा पाउन सकेका छैनन्, यसमा ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।

प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले तीन तहको स्वास्थ्य सेवामा अलमल भइरहेको बताउनुभयो । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका महाशाखा प्रमुख डाक्टर खगेश्वर गेलालले बागमती प्रदेशले रु चार अर्ब ९० करोड स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी गराउँदै विश्व स्वास्थ्य सङ्गठनले निर्दिष्ट गरेको मापदण्डअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारले कुल वार्षिक बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने बताउनुभयो । 

प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा अर्जुन सापकोटाले स्वास्थ्य संस्थामा दुई बर्ष सेवा दिन सक्ने कर्मचारीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले नागरिकलाई केन्द्रविन्दुमा राखेर प्रभावकारी सेवा सञ्चालन गरिएको उल्लेख गर्नुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयले गत आव २०८१÷८२ मा सञ्चालन गरेको कार्यक्रमहरूमा ७८ दशमलव ८ प्रतिशत आर्थिक प्रगति र ९६ प्रतिशत भौतिक प्रगति रहेको जानकारी गराउँदै आन्तरिक लेखा परीक्षणमा बेरुजु शून्य रहेको उहाँले जानकारी गराउनुभयो ।

प्रकाशित : २६ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६