टाँका नलगाई १०–१५ मिनेटमै शल्यक्रिया, कपिलवस्तुमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग
कपिलवस्तु १ असोज
बाणगंगा नगरपालिकाद्वारा सञ्चालित पिपरा अस्पतालले स्वास्थ्य सेवामा नयाँ प्रविधिको प्रयोग विस्तार गर्दै नागरिकलाई सहज, गुणस्तरीय र पहुँचयोग्य सेवा प्रदान गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। अस्पतालमा पहिलो पटक सरकमसिजन Zcircumcision (ZSR) प्रविधि बाट बालकको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको पिपरा अस्पतालले जनाएको छ ।

लिङ्गको टुप्पोमा रहेको छाला पछाडि नफर्किने तथा पिसाब गर्न समस्या हुने अवस्थाबाट पीडित एक बालकको उक्त प्रविधिबाट शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। शल्यक्रियापछि बालकलाई डिस्चार्ज समेत गरिएको प्रशासन प्रमुख राजु रसायलीले जानकारी दिनु भयो ।
अस्पतालका अनुसार यो प्रविधिबाट गरिने शल्यक्रियामा टाँका लगाउन नपर्ने, करिब १० देखि १५ मिनेटमै प्रक्रिया सम्पन्न हुने तथा रगत कम बग्ने जस्ता विशेषता रहेका छन्। बिरामीलाई सहज हुने गरी शल्यक्रिया सम्पन्न गर्न सकिने भएकाले आधुनिक स्वास्थ्य सेवाको विस्तारमा यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यद्यपि, शल्यक्रियाको प्रकृति र बिरामीको अवस्था अनुसार दुखाइ तथा अन्य जोखिम फरक हुन सक्ने चिकित्सकीय पक्षलाई समेत ध्यान दिन आवश्यक हुन्छ।
पिपरा अस्पतालमा कपिलवस्तु जिल्लामै पहिलोपटक यस प्रविधिबाट यस्तो शल्यक्रिया सम्पन्न भएको अस्पतालको दाबी छ। स्थानीय स्तरमै आधुनिक स्वास्थ्य सेवा उपलब्ध हुन थालेसँगै सामान्य उपचारका लागि समेत टाढाका अस्पतालमा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
शल्यक्रिया जनरल सर्जन डा. सञ्जोग शिवाकोटीको नेतृत्वमा सम्पन्न भएको हो। एनेस्थेसिया तर्फ राधा कोइराला, ओटी नर्स रज्जु सापकोटालगायत स्वास्थ्यकर्मीको टोली शल्यक्रियामा सहभागी रहेको अस्पतालले जनाएको छ ।
बाणगंगा नगरपालिकाद्वारा सञ्चालित पिपरा अस्पतालले स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै स्थानीय नागरिकको भरोसा बढाउने प्रयास गरिरहेको छ। विशेषगरी आर्थिक रूपमा विपन्न तथा गरिब परिवारका लागि स्थानीय अस्पतालबाट सेवा प्राप्त हुनु उपचारमा पहुँच सुनिश्चित गर्ने महत्वपूर्ण आधार बनेको छ।
स्वास्थ्य उपचारका लागि महँगा निजी अस्पताल वा टाढाका स्वास्थ्य संस्थामा निर्भर हुनुपर्ने अवस्थालाई कम गर्न स्थानीय तहबाट सञ्चालित अस्पतालको भूमिका महत्वपूर्ण हुन्छ। नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सकिएमा उपचार खर्च, समय र आवतजावतको बोझसमेत घटाउन सहयोग पुग्न सक्छ।
पिपरा अस्पतालमा नयाँ प्रविधिको प्रयोग र विशेषज्ञ सेवाको विस्तारले नगरवासीमा थप विश्वास सिर्जना गर्ने अपेक्षा गरिएको छ। अस्पतालले आगामी दिनमा पनि सेवाको गुणस्तर सुधार, आधुनिक उपचार विधिको विस्तार तथा विपन्न नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्न आवश्यक देखिन्छ।
नागरिकको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै प्रविधि, दक्ष जनशक्ति र सेवाको पहुँच विस्तार गर्न सकिएमा पिपरा अस्पताल स्थानीय समुदायको स्वास्थ्य भरोसाको महत्वपूर्ण आधार बन्न सक्ने स्वास्थ्य क्षेत्रका जानकारहरुको भनाई रहेको छ ।









प्रतिक्रिया