कपिलवस्तु, कात्तिक २६
नेकपा (एमाले) कपिलवस्तुले यही कात्तिक २९ गते बाणगंगामा शक्ति प्रदर्शनसहित विशाल जनसभा गर्ने तयारी तीव्र पारेको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्माले नेपालको संवैधानिक निरन्तरता समाप्त पार्ने, अराजकता सिर्जना गर्ने र राष्ट्रिय अस्मितामा प्रहार गर्ने विदेशी शक्तिहरूको प्रयासलाई एमालेले मात्र परास्त गर्न सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, “कपिलवस्तुमा एमाले अझै पनि मजबुत रूपमा छ भन्ने सन्देश यही शक्ति प्रदर्शनले दिनेछ।”
प्रदेश कमिटी सदस्य शर्माले जेन्जी आन्दोलनको उद्देश्य देशको संरचना र सम्पत्ति नष्ट गर्नु नभई सुधार र परिवर्तन ल्याउनु रहेको तर केही अराजक तत्वका कारण त्यसमा गलत प्रभाव परेको बताउनुभयो । उहाँले शक्ति प्रदर्शनमार्फत एमाले कमजोर नभई सशक्त र संगठित पार्टी भएको प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् बाणगंगा इन्चार्ज चक्रपाणी अर्यालले बाणगंगामा एमाले जनतासंथै एकाकार रहेको जिकिर गर्दै “एमाले आज पनि बलियो संगठन हो। जनताको साथ र समर्पणबाट यो अझ सबल बन्नेछ।” उहाँले राष्ट्रियता र स्वाभिमानको पक्षमा एमालेले देखाएको प्रतिबद्धताले नै देशी–विदेशी शक्तिहरूको आक्रमण परास्त गर्ने बताउनुभयो।

त्यस्तै, नगरकमिटी अध्यक्ष सोमनाथ अर्यालले आगामी कात्तिक २९ गते हुने शक्ति प्रदर्शन भव्य र ऐतिहासिक हुने दाबी गर्नुभयो। उहाँका अनुसार, “लक्षित पाँच हजार जनसहभागिता मात्रै होइन, त्यसको दोब्बर उपस्थितिका लागि सबै तहका कार्यकर्ताहरू सक्रिय छन्।”
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका अध्यक्ष तिलक गिरी,

भूमि अधिकार मञ्चकी केन्द्रीय सदस्य पवित्रा नेपाली, अनेम संघ जिल्ला अध्यक्ष शान्ता पाण्डे, राष्ट्रिय जनसांस्कृतिक महासंघका जिल्ला इन्चार्ज पूर्णचन्द्र परियार, प्रेस चौतारी नेपाल कपिलवस्तु अध्यक्ष बाबुराम रायमाझी, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष रेशम जिसी सहितका नेताहरूले २९ गतेको जनसभालाई सफल बनाउन पूर्ण समर्पणका साथ जुट्ने प्रतिवद्धता जनाए।
भेला एमाले नगरकमिटी अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा, उप–सचिव जगत रेग्मीको स्वागत मन्तव्य तथा सचिव चेतनारायण भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश, जिल्ला र नगर कमिटीका सदस्यहरू, स्थानीय नेता तथा सयौं कार्यकर्ताको उत्साहपूर्ण उपस्थिति रहेको थियो।

यसै बीच एमाले कपिलवस्तुले जिल्लाका दशै स्थानिय तहमा मंगलवार पालिका–स्तरीय वैठकले सम्पन्न गरेको जनाएको छ । वैठक जनपरिचालन विषयमा केन्द्रित रहेको एमाले कपिलवस्तुले जनाएको छ ।








प्रतिक्रिया