देश

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीचमा एकता



काठमाडौँ, २६ कात्तिक

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालबीच सशक्त र सुदृढ पार्टी निर्माण गर्न सङ्गठनात्मक एकीकरण गर्ने सहमति भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल तथा जागरण अभियानका प्रस्तावक भीम रावलबीच आज पार्टी एकता गर्नेसम्बन्धी सातबुँदे सहमति भएको हो । सहमतिसँगै काठमाडौँको राष्ट्रियसभा गृहमा पार्टी एकता घोषणा सभा सुरु भएको छ ।

जनताको हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेप र दबाबबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृक्तिको मार्गमा अग्रसर रहने दुई पार्टीबीच सहमति भएको छ । यस्तै समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक–सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने, आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पत्रमा उल्लेख छ । महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने, सबै तहमा र मातृभूमि जागरण अभियान, नेपालअन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरूलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने सहमति भएको छ ।

यस्तै पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमलगायतका दस्तावेजहरू आपसमा मिलेर तयार गर्ने, पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने तथा पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गरिने सहमति पत्रमा उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीबाट निष्काषित गरेपछि रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आउनुभएको छ ।

प्रकाशित : २७ कार्तिक २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६