अर्थ-वाणिज्य

बाणगंगामा किसानका लागि उत्साहबिउमा — ५०% लागत साझेदारीमा उन्नत गहुँ वितरण सुरु



प्रेसपाटी डेक्स, कात्तिक २६

बाणगंगा नगरपालिकाले कृषकलाई आत्मनिर्भर र आधुनिक खेतीतर्फ उन्मुख गराउने उद्देश्यले ५० प्रतिशत लागत साझेदारीमा उन्नत जातको गहुँको बिउ वितरण सुरु गरेको छ। बुधबारदेखि सुरु भएको यो वितरण कार्यक्रमले नगरका किसानहरूमा नयाँ उत्साह र आशा जगाएको छ।
नगरका वडा नम्बर १ देखि ९ सम्मका कृषकहरूलाई नगरपालिकाको कृषि विकास शाखाबाट र वडा नम्बर १० र ११ का कृषकहरूलाई वडा कार्यालयमार्फत गहुँको बिउ वितरण गरिएको छ। तीन दिनसम्म चल्ने वितरण कार्य अन्तर्गत कुल ६६८ क्विन्टल उन्नत जातको गहुँको बिउ किसानहरूलाई प्रदान गरिने नगरका कृषि विकास शाखा प्रमुख लेस बहादुर केसीले बताउनु भयो ।
बुधबार वडा नम्बर ५ का कृषक कृष्णबहादुर थारुलाई बिउ हस्तान्तरण गर्दै नगर प्रमुख चक्रपाणी अर्यालले वितरण कार्यको औपचारिक सुरुवात गर्नुभयो। उहाँले किसानमैत्री कार्यक्रमलाई नगरपालिका प्राथमिकतामा राखिएको बताउँदै, “उन्नत बिउ, प्रविधि र परामर्शको पहुँच बढाउँदै बाणगंगाका कृषकलाई समृद्ध बनाउने हाम्रो साझा लक्ष्य हो,” भन्नुभयो।


कृषकहरूले नगरपालिकाको यो पहलले आफूहरूमा खेतीप्रति थप उत्साह जागेको बताएका छन्। वडा ५ का कृषक कृष्णबहादुर थारुका अनुसार, “पहिले पुरानो बिउले राम्रो उत्पादन दिन छाडेको थियो। अहिले उन्नत बिउ पाइँदा हामीलाई नयाँ ऊर्जा मिलेको छ। उत्पादन बढ्ने विश्वास छ।”
यस कार्यले नगरका सयौं कृषकलाई आधुनिक कृषि प्रविधितर्फ आकर्षित गर्ने र उत्पादन क्षमतामा वृद्धि ल्याउने विश्वास नगरपालिकाले लिएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले विचार राख्नु भयो ।
बाणगंगा नगरपालिकाको यस्तो लागत साझेदारी कार्यक्रमले किसानलाई सहयोग मात्र होइन, आत्मनिर्भरता र आधुनिक कृषिप्रणालीतर्फ अघि बढ्ने बाटो पनि खोलेको उपप्रमुख रिता कुमारी चौधरीले बताउनु भयो । किसान र नगरबीचको सहकार्यले स्थानीय उत्पादनमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेलले बताउनु भयो ।

प्रकाशित : २७ कार्तिक २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६