विजयनगर, कात्तिक २६
कपिलवस्तुको विजयनगर गाउँपालिका–२ स्थित इन्द्रेणी सामुदायिक बन उपभोक्ता समूहको १५औँ साधारणसभा बुधबार लोहरौलामा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समूहले वन संरक्षण, पुनरुत्पादन तथा सामुदायिक सहभागितामार्फत वनको दिगो उपयोगमा जोड दिएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सामुदायिक बनहरू वन संरक्षण र अतिक्रमण नियन्त्रणमा अग्रणी भूमिका खेल्दै आएको बताउनु भयो । उपाध्यक्ष चौधरीले “वन हाम्रो साझा सम्पत्ति हो, यसको सुरक्षा र वृक्षारोपणमा सबैको समान दायित्व रहन्छ ।” बताउनु भयो ।
डिभिजन बन कार्यालय गौतमबुद्ध चन्द्रौटाका वरिष्ठ बन अधिकृत महेन्द्रराज वाग्लेले समुदायको सहकार्य बिना वन अतिक्रमण रोकथाम सम्भव नहुने उल्लेख गर्दै स्थानीय तहबाट सचेतना र निगरानी सुदृढ गर्नुपर्नेमा जोड दिनु भयो ।
सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष बनवारीलाल चौधरीले वन संरक्षण र समुदायको समृद्धि एकअर्कासँग जोडिएको विषय भएको बताउँदै सबैको साझा प्रयासले मात्र दीर्घकालीन वन संरक्षण सम्भव हुने धारणा राख्नु भयो ।
अध्यक्ष चौधरीका अनुसार समूहले चालु वर्षमा ५.५ किलोमिटर वनमार्ग मर्मत, ४ किलोमिटरमा अग्नि रेखा निर्माण र स्तरोन्नती, ३० हेक्टर क्षेत्रमा पुनरुत्पादन, ६० हेक्टरमा झाडी सरसफाई तथा गोडमेल, साथै डोली डाँडामा पोखरी निर्माणजस्ता कार्य सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले वन संरक्षणलाई जीवनशैलीसँग जोड्दै आगामी पुस्ताका लागि सुरक्षित र हरियो वनको सुनिश्चिततामा सामूहिक प्रतिबद्धता जनाएका थिए । सभामा आगामी योजनासहितका कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो ।








प्रतिक्रिया