देश

बाणगंगा–१ मा आधुनिक प्रशासनिक भवनको उद्घाटन



कपिलवस्तु, बाणगंगा — मंसिर १

बाणगंगा नगरपालिका–१ का स्थानीयवासी अबदेखि अझ सहज, सुरक्षित र व्यवस्थित वातावरणमा सेवा पाउने भएका छन्। लामो समयदेखि बैरियास्थित जीर्ण संरचनाबाट सेवा ग्रहण गर्दै आएका वडावासीका लागि चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा निर्माण गरिएको नयाँ प्रशासनिक भवन सोमबार एक औपचारिक समारोहका बीच उद्घाटन गरिएको हो।


नवनिर्मित भवनको उद्घाटन संविधान सभा सदस्य अत्तहर कमाल मुसलमान र बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले संयुक्त रूपमा गर्नु भयो।
समारोहमा प्रमुख अतिथि मुसलमानले वर्षौँदेखि असहज अवस्थाबाट सेवा लिन बाध्य वडावासीका दिन अब बदलिन लागेको भन्दै आधुनिक संरचना निर्माण हुनु स्वयंमा गौरवको विषय रहेको उल्लेख गर्नुभयो। स्थानीय सरकारले जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने ढंगले विकास गतिविधि अघि बढाएको भन्दै उहाँले सुदृढ सेवा प्रवाहका लागि सबैको साझेदारी आवश्यक रहेको बताउनुभयो।


नगरप्रमुख अर्यालले सुविधा सम्पन्न भवन सञ्चालनमा आएपछि वडा–१ का नागरिकले छिटो, पारदर्शी र उत्तरदायी सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। आधुनिक संरचनाले सेवाको गुणस्तर वृद्धिमा महत्वपूर्ण मोड ल्याउने र नगरपालिकाको समग्र प्रशासनिक क्षमता अझ मजबुत हुने उहाँको भनाइ थियो।
उपप्रमुख रिता कुमारी चौधरीले नयाँ भवनले सेवाग्राही र कर्मचारी दुवैका लागि सहज, प्रेरणादायी र मर्यादापूर्ण कार्य वातावरण तयार गर्ने बताउनुभयो। उहाँका अनुसार, गुणस्तरीय संरचनाले जनप्रतिनिधि तथा कर्मचारीलाई थप उत्साहका साथ सेवा प्रवाहमा सक्रिय बनाउनेछ।
प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीका अनुसार कम्पाउण्ड सहित करिब १ करोड २ लाख रुपैयाँमा भवन निर्माण सम्पन्न गरिएको हो। बाणगंगाका सबै ११ वटै वडा कार्यालयलाई अपाङ्गमैत्री, प्रविधिमैत्री र नागरिकमैत्री सेवा केन्द्रका रूपमा विकसित गर्ने लक्ष्यअनुसार काम अघि बढिरहेको पनि उहाँले जानकारी दिनुभयो।
कार्यवाहक वडाध्यक्ष लक्ष्मी बहादुर खत्रीले विगतमा पुरानो, जीर्ण संरचना व्यवस्थापन एक चुनौती भएको उल्लेख गर्दै, नयाँ भवनबाट प्रविधिमैत्री र गुणस्तरीय सेवा दिने वडा–१ पूर्ण रूपमा तयार रहेको बताउनुभयो।
वडा सचिव पुस्कर भुसालले पुरानो भवनमा स्थान अभावका कारण सेवाग्राही, कर्मचारी र जनप्रतिनिधि सबैले कठिनाइ झेल्नुपरेको स्मरण गर्दै, नयाँ संरचनाले ती सबै समस्या अन्त्य गर्दै सुविधा सम्पन्न सेवाको नयाँ युग सुरु हुने विश्वास व्यक्त गर्नुभयो।
समारोहमा शिवमन्दिर सामुदायिक वनका अध्यक्ष झलक मल्ल ठकुरी, समाजसेवी डोलकराम घिमिरे लगायतले सेवा प्रवाहमा सकारात्मक परिवर्तन आउने र वडावासीले अब सहज र सम्मानजनक वातावरणमा सेवा पाउने टिप्पणी गर्नु भयो।
नवनिर्मित वडा कार्यालयको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय समाजसेवी तथा वडावासीको उत्साहपूर्ण उपस्थिति रहेको थियो। नयाँ भवन सञ्चालनमा आएसँगै बाणगंगा नगरपालिका–१ ले सुसंस्कृत प्रशासन र प्रभावकारी सेवातर्फ महत्वपूर्ण कदम चालेको जनमानसमा आशा जागेको छ ।

प्रकाशित : २ मंसिर २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६