बोल्न जति पनि पाइन्छ । आफ्नै पार्टीका नेताका नामै तोकेर र ताकेर गाली गर्न पनि पाइन्छ । झ्यास्सै कार्बाही हँुदैन कसैलाई । अन्तिम अवस्था आएछ भने मात्रै झाराटार्न कार्बाहीको नाटक गरिन्छ । जो आए पनि हुन्छ र जो जता गए पनि चल्छ, छेकिन्न, रोकिन्न । आउने र जानेको लर्को पनि लागि रहन्छ । प्रजातान्त्रिक भनिने इतिहास बोकेको पार्टी नेपालमा अर्को नहुनाले । कम्युनिष्टहरु आफैमा नमिल्नाले, कसैले कसैलाई सहन नसक्नाले, प्रजातान्त्रिक परिपाटी न अंगाल्नाले, आपसमा मारामार गर्नाले, विश्वासयोग्य र परपर्दा नबन्नाले । अनि पश्चिम र दक्षिणसंग कांग्रेसको सम्बन्ध पुरानो हुनाले । पश्चिम र दक्षिणले पनि अर्को भरपर्दो राजनीतिक दल नेपालमा नपाउनाले ।
जेन–जी आन्दोलनका बेला देउवाका दम्पति कुटिए, पिटिए । त्यसपछि देउवाले पनि पार्टीको कार्यबाहक सभापति तोकेर बाहिरिए । आरोप लगाउनेहरुले भनेका थिए नाटक हो त्यो । होला वा नहोला केही समयपछि आफै भेद खुल्ला । अझै पनि भन्दैछन् – पूर्णबहादुर खडकालाई कार्यबाहक दिए पनि कांग्रेस उनैले चलाउँदैछन् । आफ्नो विरोध गर्नेलाई दङ्ल्याएरै गलाउदैछन् । त्यसैले त सामान्य विषयमा पनि महिनादिनसम्म बैठक बसेर कुनै निर्णयमा पुग्न सक्दैन । किनकि निर्णय नै गरिदैन । देउवाको इसारा कुरिन्छ र भनाइन्छ – देउवाबिना पार्टी चल्दैन । कसैले पनि कुनै निर्णय गर्न सक्दैन । गर्न र गराउनका लागि, पार्टी चल्न र चलाउनका लागि देउवा नै चाहिन्छ । यसरी गलाएर, थकाएर, छकाएर आफ्नै चाहनानुसार निर्णय गराउन सक्ने खुबी छ देउवामा । छैन अरुमा । पार्टीमा बहुमत छ देउवाकै तलदेखि माथिसम्म । विदेशीले पत्याउने नेता पनि देउवा नै हुनाले । अरुले सम्बन्ध विस्तार गर्न नसक्नाले ।
कतिपय मान्छेको आरोप छ – सरकारमा साथ छुटे पनि कांग्रेस र एमालेको गठबन्धन टुटेको छैन । भित्रभित्रै जारी छ । जसरी तसरी संसद पुनःस्थापन गराएर देउवालाई नै, नभए उनीहरुले चाहेको मान्छेलाई प्रधानमन्त्री बनाएर चुनावमा जाने तयारी छ । त्यसैका लागि देउवा उपचारका नाममा सिङ्गापुर गएका हुन् । पश्चिम र दक्षिणसंग बिग्रेको सम्बन्ध मिलाउन । सिङ्गापुर हुँदा पनि ओली र देउवाका बीचमा वार्तालाप भैरहन्थ्यो । एमालेले आन्दोलन गरेर यता सडक तताएर देखाउने र अत्याउने, उता देउवाले विदेशी शक्तिसंग सम्बन्ध बढाउने र मिलाउने । त्यसैले ओलीको बोलीमा देउवाको दम छ र देउवामा ओलीको । संसद पुनःस्थापनामा केही कांग्रेस सांसदले हस्ताक्षर संकलन गरेपछि नजाने निधो दिइएको भन्ने समाचार जनमत परीक्षणका लागि थियो ।’ कति साँचो होला यो ?
जे होस् नेपालको राजनीति कचल्टिएको छ । अरुले कांग्रेसलाई र कांग्रेसले अरुलाई हेरेर, समय कुरेर अन्तिममा निर्णय गर्ने चलन पुरानै हो । यसपटक पनि होला त्यस्तै । राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसकै पूर्वनेता र कार्यकर्ता हुनाले पनि । एमालेले पनि कांग्रेसको निर्णय हेरेर चुनावमा जाने वा नजाने निधो गर्ला । विघटित संसदको पुनःस्थापन सम्बन्धी मुद्दामा दुवै दलको अवस्था हेरेपछि बल्ल अदालतको पनि फैसला आउला ।
४ मंसिर २०८२, बुधबार








प्रतिक्रिया