जीवनशैली

साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत



खोटाङ, ५ मङ्सिर

साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न सुरु गरेको छ । परम्परागत रूपमा ‘म्यानुअल’ प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसलाई हटाएर अनलाइन प्रणालीमार्फत सुरु गरेको हो । गृह मन्त्रालयअन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यो सेवा सुरु गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिनुभयो । “अबदेखि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर निवेदन दिएपछि वडा कार्यालयले सो विवरण अनलाइन प्रणालीमा प्रविष्ट गरेर सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नेछ । यसरी प्रमाणित भएको कागजात अनलाइनमा प्रविष्ट हुन्छ । जसका आधारमा जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता प्रमाणपत्र प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराइनेछ”, उहाँले भन्नुभयो । अनलाइन प्रणालीले नागरिकता सिफारिस र वितरण प्रक्रियामा पारदर्शिता, एकरुपता र समय बचत हुने भएकाले अनिवार्य रूपमा अनलाइन प्रणाली लागू गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताउनुभयो । यो प्रणाली लागू भएपछि गाउँपालिकाको प्रशासनिक कामकाजमा ‘डिजिटलीकरण’को थप अध्याय सुरु भएको र गाउँपालिकालाई ‘डिजिटलाइज गाउँपालिका’ बनाउने कार्यमा एक इँटा थपिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो । जिल्लाको सबैभन्दा सानो (पाँचवटा वडा रहेको) साकेला गाउँपालिकामा जन्म, मृत्यु, बसाइँसराइ, विवाहदर्ता, सम्बन्धविच्छेदजस्ता पञ्जीकरणको सम्पूर्ण काम अनलाइन प्रणालीमार्फत नै जारी हुँदै आएको थियो । स्थानीय सेवाग्राहीले यस कदमलाई स्वागत गर्दै यसले सेवाग्राहीलाई समेत छिटो, पारदर्शी र झन्झटमुक्त सेवा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित : ६ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६