कपिलवस्तु, ८ मंसिर
प्रथम कपिलवस्तु व्यापार मेला तथा महोत्सवले स्थानीय विकास, व्यापारिक सम्भावना र सांस्कृतिक विविधतालाई एउटै मंचमा ल्याउँदै जिल्लामा उत्साहपूर्ण माहोल सिर्जना गरेको छ। मायादेवी रंगशालामा जारी महोत्सवमा पहिलो दिनदेखि नै दर्शकको घुईँचो देखिनु मेलाप्रतिको व्यापक रुचिको प्रमाण बनेको छ।

मेला परिसरमा प्रवेश गर्नासाथ रंगीन स्टलहरूको दृष्यले आगन्तुकलाई आकर्षित गर्छ। स्थानीय कृषि उत्पादन, घरेलु हस्तकला, कपडा, इलेक्ट्रोनिक्स, खेलौना, सौन्दर्य सामग्रीदेखि नवीन ग्याजेटसम्मका स्टलहरूले सबै उमेरका दर्शकलाई लोभ्याइरहेका छन्। किफायती मूल्य, धेरै विकल्प र व्यवस्थित वातावरणका कारण उपभोक्ताहरू सन्तुष्ट देखिन्छन्।
स्थानीय उत्पादनका स्टलहरूमा विशेष चहलपहल छ। धेरै उपभोक्ताहरूले स्थानीय उद्यमीलाई समर्थन गर्न पाउने अवसरलाई उत्साहपूर्वक स्वागत गरेका छन्। परिवारसहित आएका आगन्तुकले “मेला रमाइलो, सामान प्रशस्त र मूल्य उपयुक्त” भन्दै सकारात्मक अनुभव व्यक्त गरे।

युवापुस्ताका लागि मनोरञ्जनका आकर्षण—फोटो जोन, गेम–जोन र झूला—मेला भरिभराउ रह्यो। युवाहरूले सामाजिक सञ्जालमा फोटो तथा भिडियो साझा गरेपछि मेलाको चर्चा अझै बढेको छ। एक युवाले भने, “खाना, रमाइलो, संगीत सबै छ। साथीभाइसँग आउन मज्जा आयो। हरेक वर्ष यस्तै मेला भए कति राम्रो !”
खानाका स्टलले मेलालाई अझ आकर्षक बनाएको छ। स्थानीय परिकारदेखि फास्ट–फूड र मिठाईसम्म चाख्न आउनेको भीड दिनभरि देखिन्छ। धेरै आगन्तुकले खाना क्षेत्रलाई ‘मेलाको सबैभन्दा रमाइलो भाग’का रूपमा वर्णन गरे।
व्यापारीहरूका अनुसार मेला व्यापारिक हिसाबले पनि निकै सफल बन्दै गएको छ। नयाँ तथा अनुभवी व्यावसायी दुबैले आफ्नो उत्पादन र सेवा प्रदर्शन गर्न पाएको अवसरलाई महत्वपूर्ण मानेका छन्। स्टलहरूमा ग्राहकसँग व्यापारीको संवाद र व्यस्तता नै मेलाको सफलताको संकेत बनेको छ।
सांझपख प्रस्तुत गरिएका सांस्कृतिक कार्यक्रमले मेलाको माहोल झनै उत्सवमय बनाएको छ। स्थानीय कलाकार, नृत्य तथा संगीतमा दर्शकको उत्साहपूर्ण सहभागिताले वातावरण जीवन्त बनेको छ।
स्थानीय रोजगारी सिर्जना, व्यापारिक गतिविधि विस्तार र पर्यटन प्रवर्धनका उद्देश्यसहित आयोजना गरिएको प्रथम कपिलवस्तु व्यापार मेला तथा महोत्सवमा दर्शकको बढ्दो सहभागिताले यस क्षेत्रको आर्थिक–सांस्कृतिक सम्बद्र्धनमा सकारात्मक सन्देश दिएको आयोजकहरू बताउँछन्।








प्रतिक्रिया