प्रेसपाटी, पकडी, भदौ ४
नेकपा (एमाले) कपिलवस्तुले सञ्चालन गरेको ‘मिसन पार्टी जागरण अभियान–२०८३’ अन्तर्गत शुद्धोधन गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ। शुद्धोधन गाउँपालिका–१ स्थित सीएलसी भवनमा सम्पन्न भेलाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनतासँगको सम्बन्धलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएको छ।
भेलालाई सम्बोधन गर्दै एमाले नेता तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य डम्मर शर्माले पार्टी जनताको अपेक्षा र आवश्यकता अनुसार रूपान्तरण हुने धारणा राख्नु भयो । उहाँले एमाले जनताको पक्षमा दृढताका साथ उभिने राजनीतिक शक्ति भएकाले जनताका समस्या, आवश्यकता र आकांक्षालाई पार्टीको नीति तथा व्यवहारसँग जोड्नुपर्ने धारणा राख्नुभयो।

नेता शर्माले पार्टीभित्रको एकता र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकता दिँदै सामाजिक तथा आर्थिक रूपान्तरणको अभियानलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले बदलिँदो सामाजिक परिवेश र नागरिकका अपेक्षालाई सम्बोधन गर्न पार्टीले आफ्नो कार्यशैलीमा समेत आवश्यक सुधार गर्नुपर्नेमा जोड दिनुभयो।
“पार्टीलाई एक ढिक्का बनाएर जनताका बीचमा बलियो रूपमा स्थापित गर्नुपर्छ,” उहाँको भनाइ थियो, “जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने सामाजिक र आर्थिक रूपान्तरणको अभियानमा एमालेले आवश्यक कदम चाल्नुपर्छ।”
एमालेले सबै तह र तप्काका नागरिकका अपेक्षालाई सम्बोधन गर्ने गरी आफ्नो राजनीतिक गतिविधि अघि बढाउनुपर्ने नेता शर्माको भनाइ थियो। उहाँले पार्टी संगठनलाई राजनीतिक गतिविधिमा सीमित नराखी स्थानीय नागरिकका दैनिक समस्या, विकासका आवश्यकता र सामाजिक सरोकारसँग जोड्नुपर्ने बताउनुभयो।
मिसन पार्टी जागरण अभियानलाई संगठन सुदृढीकरणसँगै पार्टी र जनताबीचको सम्बन्ध पुनः मजबुत बनाउने अवसरका रूपमा लिनुपर्नेमा भेलामा जोड दिइएको थियो। अभियानमार्फत कार्यकर्ता तथा नेताहरूलाई जनताका बीचमा पुगेर उनीहरूको धारणा, गुनासा र अपेक्षा बुझ्न तथा पार्टीको आगामी कार्यदिशालाई त्यसअनुसार परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।










प्रतिक्रिया