८ मंसिर, काठमाडौं
प्रधानमन्त्रीलाई भेट्न भन्दै सोमबार दिउँसो जेनजीका समूहहरू सिंहदरबार गेटमा पुगेका थिए ।
भित्र छिर्न नपाएपछि मिरज ढुंगाना समूहसहित केहीले सिंहदरबार गेटबाहिर मागपत्र टाँसेर हिँडे । द काउन्सिल अफ जेनजीसहित जेनजी मुभमेन्ट नेपालका केही सदस्य गेटभित्र छिरेर पनि प्रधानमन्त्री भेट्न पाएनन् ।
थरीथरी जेनजी समूहहरू सिंहदरबार पुग्नुको कारण थियो, आइतबार अनलाइनखबरमा प्रकाशित प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले पदीय दुरुपयोग गरेर श्रीमती र नातेदारलाई जागिर खुवाएको समाचार ।
नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका थिए । कमला श्रेष्ठ सहितका केहीलाई पनि नियुक्त गरिएको कुरा बाहिर आएको थियो । असोज २ गते नै उनीहरूको नियुक्ति भएको थियो ।
यो समाचार बाहिरिएसँगै जेनजीका विभिन्न समूह तरंगित बने । सुशासन माग्दै आफूहरूले गरेको आन्दोलनको जगमा बनेको सरकारबाट यस्तो कल्पना नगरिएको उनीहरूको भनाइ छ । त्यसैले तत्काल श्रेष्ठलाई बर्खास्त गर्नुपर्ने माग उनीहरूको छ ।
प्रमुख स्वकीय सचिव आदर्शले परिवारका सदस्य र नातेदारलाई जागिर दिलाएको विषयमा नेपाल जेनजी फ्रन्टले विज्ञप्ति निकाल्दै आपत्ति जनायो । फ्रन्टले प्रधानमन्त्री समक्ष श्रेष्ठलाई पदमुक्त गरी उनले दिलाएका नियुक्ति खारेज गर्नुपर्ने लगायतका पाँच बुँदे माग राखेको छ ।
‘सुशासन र जवाफदेहिताको नाराको बलमा बनेको सरकारमा पुनस् नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो रु,’ जेनजी फ्रन्टले भनेको छ । उसले यस सम्बन्धमा प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारी मागेको छ । श्रोत अनलाईन खबर








प्रतिक्रिया