११ मंसिर, बाणगंगा
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कोपवाले विहिबार एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। वडा कार्यालय परिसरमै आयोजना गरिएको कार्यक्रममा वित्तीय अनुशासन, ऋण व्यवस्थापन र बचतको संस्कृतिबारे सहभागीहरूलाई विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य विष्णु प्रसाद पन्थीले ऋण लिँदा त्यसको सही उपयोग अनिवार्य हुने र समयमा भुक्तानी गर्नु प्रत्येक ग्राहकको दायित्व भएको उल्लेख गर्नु भयो । केही घटनाका कारण ऋण उपयोगमा चुनौती पैदा भएकाले नियमित निगरानी र जिम्मेवार व्यवहार आवश्यक रहेको चर्चा गर्नु भयो । पंथीले फजुल खर्च त्याग्दै बचत बानी विकास गर्न आग्रह गर्दै, “पैसा थिग्रामा थामिएर बस्नु हुँदैन, चलायमान अर्थतन्त्रकै आधार उद्यमशीलता हो,” भन्ने धारणा राख्नु भयो ।

बाणगंगाकी उप–मेयर रिता कुमारी चौधरीले ऋणको दुरुपयोगले व्यक्ति र संस्था दुबै समस्यामा पर्ने उल्लेख गर्नु भयो । केही सहकारीका गतिविधिले लघुवित्त क्षेत्र बदनाम भए पनि आरम्भ चौतारी लघुवित्तले ८–९ वर्षदेखि विश्वसनीय रूपमा सेवा दिइरहेको भन्दै उपप्रमुख चौधरीले संस्थाको प्रशंसा गर्नु भयो ।
वडा नं. ५ का अध्यक्ष दुनिका भुसालले ऋण परिचालन र बचत व्यवस्थापनमा संस्थाले अझ प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा उत्कृष्ट बचत, अनुशासन र ऋण परिचालनमा उदाहरणीय भूमिका खेलेका शकुन्तला थारु, देवा खनाल, अमृता थारु, शिव अधिकारी, चिन्की थारु र दिपा थारुलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि लगायत अन्य अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।
शाखा प्रमुख माधव प्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नरसिंह मिश्रले स्वागत मन्तव्य राख्नु भयो । त्यस्तै कार्यक्रमको उद्देश्यबारे प्रतिक्षा परियारले जानकारी दिएकी थिइन्। अनुगमन अधिकृत दिपा ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा संचारकर्मी हरि अधिकारी, कृष्ण प्रसाद पौडेल लगायतको सहभागिता रहेको आयोजकले जनाएको छ।








प्रतिक्रिया