अर्थ-वाणिज्य

१६औँ कपिलवस्तु महोत्सवमा मेथी र करेलाको अचार हिट, स्थानीय महिला उद्यमीको स्टलमा दिैनिक ६ हजार बिक्री



पार्वती पाण्डे

कपिलवस्तु, २६ मंसिर

१६औँ कपिलवस्तु महोत्सवमा स्थानीय महिला उद्यमीले उत्पादन गरेको अचारले उल्लेखनीय बजार पाएको छ। बाणगंगा–९ भलवाडस्थित सञ्जीवनी अचार उद्योगले महोत्सवमा राखेका विभिन्न प्रकारका अचारमध्ये मेथी र तितेकरेला (करेला) का अचार दर्शकको विशेष रोजाइमा परेका छन्।
उद्योगकी अध्यक्ष मनकला गिरीका अनुसार महोत्सव सुरू भएको दिनदेखि नै स्टलमा भीड बढेको छ।
उनी भन्छिन्, “दैनिक ५ देखि ६ हजार रुपैयाँसम्मको अचार बिक्री भइरहेको छ। अकबरे, मेथी, लप्सी, अमला, तितेकरेला, टिमुरको छोप, मटन र चिकनसहित धेरै आइटम राखेका छौँ। सबैले मन पराएर लैजाने गर्छन्।”
अचार बनाउने कमला अधिकारीका अनुसार प्रेसर हाई भएका बिरामीका लागि करेलाको अचार फाइदाजनक हुने विश्वासले त्यसको बिक्री धेरै भएको हो।
उनले भनिन्, “करेलाको अचार धेरै खोजिन्छ। अमलाको अचार पनि धेरैले लिन्छन्।”
महिला उद्यमी मनिषा खड्काले कहिलेकाहीँ स्टलमा यति धेरै भीड लाग्ने गरेको बताइन् कि अचार पु¥याउनसमेत हम्मे–हम्मे पर्छ।
उनी भन्छिन्, “चिकन र मटनको अचार भने युवा पुस्ताले धेरै लैजान्छन्।”
महोत्सवमा सहभागी पटनाकी नैनकला शर्माले मेथीको अचार अत्यन्त स्वादिष्ट लागेको बताइन्।
“मेथी शरीरका लागि फाइदाजनक पनि छ, त्यसैले ३ डब्बा किनेकी हुँ,” शर्माले भनिन्।
२०७६ सालमा दर्ता भएको सञ्जीवनी अचार उद्योगले हाल आफ्नै भवन निर्माण गरिसकेको छ। शुरुमा ऋण लिएर भवन निर्माण गरेको र सो ऋण अब पूरा तिरेको अध्यक्ष गिरी बताउँछिन्।
उनी थप्छिन्, “स्थानीय दिदीबहिनी मिलेर सुरु गरेको उद्योगलाई अझ स्तरीय बनाउन चाहन्छौँ। तर अहिलेका लागि कुनै संस्थागत सहयोग पाएका छैनौँ।”
“कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी—युवाको हातमा सुनौलो विहानी” भन्ने मूल नारासहित मंसिर १८ गतेदेखि बाणगंगास्थित बुद्ध रंगशालामा सुरु भएको १६औँ कपिलवस्तु महोत्सव पुस १ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित : २७ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६