काठमाडौँ, १४ पुस
‘बिटी कान्छा’ को उपनामले परिचित हाँस्यकलाकार विश्वास तिम्सिनाले तीन साथीको दैनिकीको विषयलाई लिएर ‘हरामी’ नामक शृङ्खला (वेब सिरिज) निर्माण गर्नुभएको छ । कलाकार तिम्सिनाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त शृङ्खला कुल पाँच भागको रहेको छ, जसलाई युट्युबमा साप्ताहिक रूपमा प्रसारण गर्ने गरिएको छ । युवा दर्शकलाई लक्षित गर्दै फरक किसिमको शृङ्खला निर्माण गरिएको निर्देशक तिम्सिनाले बताउनुभयो । “युवा पुस्ताको जीवनशैली, सोच र सम्बन्धलाई केन्द्रमा राखेर शृङ्खला निर्माण गरेका छौँ । विश्वभर पछिल्लो समय ‘ओटीटी प्लेटफर्म’ ले गर्दा शृङ्खला निर्माणको क्रम बढिरहेको सन्दर्भमा नेपालमा पनि हामीले प्रयास गरेका छौँ । यसले सार्थकता पाएमा नेपालमा पनि शृङ्खला निर्माणले गति लिनेछ”, निर्देशक तिम्सिनाले भन्नुभयो । मन प्रोडक्सनले निर्माण गरेको उक्त शृङ्खलामा निकुन श्रेष्ठ, ऋषिकेष बस्याल, सशाङ्क बोहरा, आना शर्मा, घनुभाई जोशी, रक्षा थापा, गौमाया गुरुङ, प्रीतिशा अधिकारीलगायतले अभिनय गरेका छन् । निर्देशक तिम्सिना पछिल्लो समय ‘कमेडी दरबार’ नामक हाँस्य कार्यक्रममा कलाकारका रुपमा प्रस्तुत हुनुभएको थियो ।








प्रतिक्रिया