खोज–अनुसन्धान

सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप



तुलसीपुर (दाङ), ८ माघ

दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरु सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् । दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका करिब १० प्रतिशत सालहरू पातविनाका छन् । यस्तै, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा पनि सालका रूखमा यस्तै समस्या छ । यहाँका सामुदायिक वनमा सालका रूख यसरी सुकेको जस्तो देखिँदा स्थानीयहरू चिन्तित छन् । “विगतका वर्षहरूमा यस्तो समस्या थिएन, यस वर्ष सालका रूख सुकेका जस्ता छन्”, तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विकले भन्नुभयो, “यसले हामीलाई चिन्तित बनाएको छ । किन यस्तो भयो होला भनेर बुझ्दै छौँ ।” डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले यस वर्ष रूखमा यस्तो महामारी देखिएको बताउनुभयो । “दाङका वनमा सालका रूखमा यस्तो महामारी देखिएको छ । रूखहरु डढेलो लागेको जस्तो देखिएका छन्, यसलाई नियन्त्रण गर्न निकै कठिन पनि छ”, उहाँले भन्नुभयो । वरिष्ठ वन अधिकृत चौधरीका अनुसार ‘मथ’ पुतलीले पात खाइदिँदा समस्या आएको हो । यसले रूखलाई पनि असर गर्ने उहाँको भनाइ छ । “यहाँका रूखमा चैत–वैशाखमा झँै पात झरेको जस्तो देखिएका छन्, पानी प¥यो भने त पलाउँछ”, उहाँले भन्नुभयो, “पटक–पटक यस्तै भइरह्यो भने साना रूखहरू सुक्छन्, ठूला रूखमा पनि वृद्धिमा ह्रास आउँछ ।” महामारीका रूपमा समस्या देखिएपछि समाधानका लागि विभागमा चिट्ठी पठाइएको चौधरीले बताउनुभयो । “जिल्लाले नियन्त्रण गर्न सक्ने अवस्था छैन । हामीसँग त्यस्तो विज्ञता, क्षमता, साधनस्रोत पनि छैन”, उहाँले भन्नुभयो, “विभागमा चिट्ठी लेखेर पठाएका छौँ, त्यहाँबाट पनि केही प्रतिक्रिया आएको छैन ।” एउटा पुतलीले एकै दिनमा ३०० जति फुल पार्ने र त्यसबाटै दिनानुदिन बढ्दै जाने भएकाले पनि नियन्त्रणभन्दा बाहिर रहेको चौधरीले बताउनुभयो । उहाँले ड्रोन वा हेलिकप्टरबाट औषधि छर्किए पनि त्यसले अन्य पशुपक्षी तथा जनावर र वरिपरिको मानव बस्तीमा पनि असर गर्ने भएकाले नियन्त्रणमा समस्या रहेको उहाँको भनाइ छ । जलवायु परिवर्तनको एउटा असरका रूपमा यसलाई लिन सक्ने वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले बताउनुभयो । यसअघि नारायणपुर क्षेत्रको वनमा पनि यस्तै समस्या देखिएकामा पछि बिस्तारै हराउँदै गएकाले यो समस्या पनि हराउन सक्ने उहाँको विश्वास छ । जिल्लामा दुई लाख हेक्टरमा वन रहेको छ । तीमध्ये सघन वन क्षेत्र एक लाख ९२ हजार ६८२ रहेको छभने बुट्यान क्षेत्र आठ हजार ४३ रहेको छ । जिल्लामा ३६९ सामुदायिक वन रहेका छन्, जसबाट ८० हजारको हाराहारी घरपरिवार लाभान्वित छन् । यहाँ १५३ हेक्टर क्षेत्रफलमा फैलिएका छ वटा धार्मिक वन हेका छन् । यस्तै ११२ हेक्टर क्षेत्रफलमा फैलिएका २४० वटा निजी वन छन् । हाल यहाँका १५÷२० वटा सामुदायिक वनमा यस्तो समस्या देखिएको छ । –––

Powered By  Orson Infotech

प्रकाशित : ९ माघ २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६