ब्रेकिंग न्युज

बाणगंगाका पोषण कार्यक्रम प्रभावकारी बन्दैः २ हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित



कपिलवस्तु ८ माघ

बाणगंगा नगरपालिकाले सञ्चालन गर्दै आएका विभिन्न पोषण कार्यक्रमहरूले समुदायस्तरमै सकारात्मक परिवर्तन देखाउन थालेका छन्। नगरकार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरणअनुसार नगरभित्र सञ्चालित पोषणमैत्री कार्यक्रमबाट कुल २ हजार १ सय २ जना नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
लाभान्वितमध्ये १ हजार ६ सय ६९ जना महिला र ४ सय ३३ जना पुरुष रहेका छन्। नगरपालिकाले पोषणमैत्री वडा निर्माण तथा पोषणमैत्री स्थानीय शासनको दिगोपनालाई केन्द्रमा राखी वडास्तरीय पोषण तथा खाद्यसुरक्षा सहजीकरण समिति, सरोकारवाला निकाय र समुदायलाई लक्षित गरी विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यस अन्तर्गत ४ सय ५२ जना सहभागी भई पोषण र खाद्यसुरक्षासम्बन्धी साझा बुझाइ निर्माण भएको छ। बाल तथा मातृ पोषण, सामाजिक सुरक्षाको महत्वबारे गरिएको अभिमुखीकरण कार्यक्रममा २ सय ५४ जना महिला सहभागी हुनु बाणगंगा नगरपालिकाको प्राथमिकता स्पष्ट रूपमा देखिएको छ।

त्यसैगरी, सुनौला हजार दिन अवधिका आमाहरूलाई लक्षित गर्दै उन्नत तरकारीका बीउबीजन वितरण गर्दा ३ सय ५० जना महिला लाभान्वित भएका छन्। यस कार्यक्रमले घरमै पोषणयुक्त खानाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।

विपन्न महिलाको पोषण सुधार तथा आत्मनिर्भरता अभिवृद्धिका लागि २८ जना महिलालाई आयआर्जन अनुदान प्रदान गरिएको छ, जसलाई नगरपालिकाको सामाजिक न्यायमुखी नीतिको उदाहरणका रूपमा हेरिएको छ।

स्थानीय उत्पादन र रैथाने बाली प्रवद्र्धन कार्यक्रमबाट १ सय २९ जना लाभान्वित भएका छन् भने उन्नत जातको कुखुराको चल्ला, दाना तथा औषधि वितरणबाट ३ सय जना महिला प्रत्यक्ष लाभमा परेका छन्। यसले पोषण सुधारसँगै आयआर्जन र आत्मनिर्भरतालाई समेत प्रोत्साहन गरेको नगरपालिकाको भनाइ छ।

सचेतना, व्यवहार परिवर्तन र सरसफाइलाई जोड दिँदै बालविकास केन्द्रका सहजकर्ता, युवा तथा बालसञ्जालका सदस्य र सुनौला हजार दिनका घरपरिवारलाई लक्षित पोषण व्यवहारसम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। साथै, खानेपानी तथा सरसफाइसम्बन्धी अभिमुखीकरण कार्यक्रममा २ सय ४९ जना सहभागी भएका छन्।

संख्यात्मक उपलब्धिमात्र होइन, कार्यक्रमको प्रकृति र लक्षित समूहको विविधताले बाणगंगा नगरपालिकाको पोषण रणनीति प्रभावकारी देखिएको छ। महिलामैत्री, बालकेन्द्रित र समुदायमा आधारित यी कार्यक्रमहरूले पोषण सुधारसँगै समावेशी र दिगो स्थानीय शासनको आधार तयार गरिरहेको नगर प्रमुख चक्रपाणी अर्यालको प्रतिक्रिया रहेको छ ।

्पोषणलाई विकासको मूलधारमा ल्याउने बाणगंगा नगरपालिकाको यो प्रयास अन्य स्थानीय तहका लागि पनि अनुकरणीय अभ्यास बन्न सक्ने प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको धारणा रहेको छ ।

प्रकाशित : ९ माघ २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६