कपिलवस्तु, ९ माघ
कपिलवस्तुको बाणगंगा नगरपालिका–६ बैदौलीस्थित कपिलवस्तु ज्ञानज्योति शिक्षा सदनमा ५६ जना बालबालिकाले अक्षरारम्भ गर्दै आफ्नो औपचारिक शैक्षिक यात्राको शुभारम्भ गरेका छन् । शुक्रबार सरस्वती पूजाको अवसरमा प्ले ग्रुपमा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि अक्षरारम्भ कार्यक्रम आयोजना गरिएको हो ।
विद्या र ज्ञानकी देवी सरस्वतीको पूजा–आराधनासँगै सम्पन्न कार्यक्रममा बालबालिकाहरूलाई औपचारिक रूपमा शैक्षिक यात्रामा प्रवेश गराइएको विद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद पोख्रेलले जानकारी दिनुभयो । उहाँले बालबालिकाको शैक्षिक जीवनको यो महत्वपूर्ण क्षण अविस्मरणीय बनाउन विद्यालय, अभिभावक र समाजको सामूहिक भूमिका आवश्यक रहेको बताउनुभयो ।अक्षरारम्भलाई बालबालिकाको जीवनको सबैभन्दा पवित्र र महत्वपूर्ण क्षणका रूपमा उल्लेख गर्दै प्रधानाध्यापक पोख्रेलले भन्नुभयो, “यो केवल अक्षर चिन्ने सुरुवात मात्र होइन, जीवनभरको सिकाइ यात्राको शुभारम्भ हो ।” उहाँले विद्यालय गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर प्रयत्नशील रहेको र बालमैत्री वातावरण निर्माणमा जोड दिइएको जानकारी दिनुभयो ।
विद्यालयका प्रबन्ध निर्देशक युवराज पोख्रेलले विद्यालयले १७ वर्षको गौरवशाली शैक्षिक यात्रा पूरा गरी नयाँ उचाइतर्फ अघि बढिरहेको बताउनुभयो । उहाँका अनुसार ग्रामीण क्षेत्रमा रहेर पनि विद्यालयले एस.ई.ई.मा दुई पटक जिल्ला प्रथम स्थानसहित पटक–पटक द्वितीय र तृतीय स्थान हासिल गर्दै जिल्लाकै उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल भएको छ ।
पोख्रेलले विद्यालयबाट एस.एल.सी.÷एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरू देश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्ययनरत हुनुका साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत रहेको जानकारी दिनुभयो । साथै, मेडिकल, इन्जिनियरिङ, नर्सिङलगायत विभिन्न क्षेत्रमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीहरूले विद्यालयको गरिमा अझ उच्च बनाएको उल्लेख गर्नुभयो । विद्यालयले आधुनिक शिक्षा पद्धति र परम्परागत मूल्य–मान्यताको समन्वय गर्दै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको जनाउँदै प्रबन्ध निर्देशक पोख्रेलले भन्नुभयो, “हामी केवल किताबी ज्ञानमा सीमित छैनौं, विद्यार्थीको चारित्रिक र नैतिक विकासमा पनि उत्तिकै ध्यान दिन्छौं ।”विद्यालयमा व्यवस्थित विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, स्मार्ट टिभी, प्रोजेक्टर, उच्च गतिको इन्टरनेट र सिसिटिभी क्यामेराको व्यवस्था गरिएको छ । साथै, करिब दुई सय प्रजातिका जडीबुटी तथा सौन्दर्यजन्य बोटविरुवासहितको सुन्दर बगैचा र प्राचीन कला–संस्कृति झल्काउने नमूना संग्रहालयसमेत स्थापना गरिएको छ ।
हरेक शुक्रबार ‘बुक फ्री डे’ सञ्चालन गरी पाठ्यपुस्तक बाहेकका अतिरिक्त ज्ञान र सिप प्रदान गरिँदै आएको विद्यालयले जनाएको छ । ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालयले कृषिकर्मलाई प्रयोगात्मक शिक्षाको रूपमा आत्मसात गर्दै धान, आलु तथा तरकारी उत्पादनसमेत गर्दै आएको छ ।आगामी शैक्षिक सत्रमा विद्यार्थी अनुशासन पाटी निर्माण, नियमित मूल्याङ्कन प्रणाली, बालबालिका पार्क निर्माण तथा अतिरिक्त क्रियाकलापलाई अझ परिस्कृत बनाउने लक्ष्य विद्यालयले लिएको जनाएको छ ।








प्रतिक्रिया