काठमाडौं । कुवेतको रक्षा मन्त्रालयले हालै भएका छुट्टाछुट्टै घटनामा केही अमेरिकी सैन्य विमानहरू दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ । तर ती सबै विमानका चालकदलका सदस्यहरू सुरक्षित रहेको मन्त्रालयलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।सीएनएनका अनुसार दुर्घटनाहरू मध्यपूर्वमा तीव्र बन्दै गएको सैन्य गतिविधिका बीच भएका हुन् । यद्यपि विमान दुर्घटनाको कारणबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । प्राविधिक खराबी, आकस्मिक अवतरण प्रयास वा अन्य कारणबारे आधिकारिक अनुसन्धान जारी रहेको बताइएको छ ।
कुवेतस्थित अमेरिकी सैन्य उपस्थितिलाई लक्षित गरी क्षेत्रभर तनाव बढिरहेका बेला यी घटनाले सुरक्षा चासो थप बढाएको छ । इरानको आक्रमणबाट ती लडाकु विमान खसेको आशंका समेत गरिएको छ ।
इरानको कडा अडान
यसैबीच, इरानका शीर्ष अधिकारीले क्षेत्रीय युद्ध विस्तार हुँदै गइरहेका बेला तेहरान अमेरिकासँग कुनै पनि प्रकारको वार्तामा नबस्ने स्पष्ट पारेका छन् । इरानले आफ्नो सार्वभौमिकता र सुरक्षामाथि आक्रमण भइरहेको दाबी गर्दै प्रतिकारात्मक कदम जारी रहने संकेत दिएको छ।
अमेरिका–इरानबीच सैन्य आक्रमण भइरहेका बेला खाडी क्षेत्रका विभिन्न देशहरूले उच्च सतर्कता अपनाएका छन् । ऊर्जा पूर्वाधार, सैन्य अड्डा र हवाई क्षेत्र सुरक्षामा विशेष निगरानी बढाइएको छ ।
१८ फाल्गुन २०८२, सोमबार








प्रतिक्रिया