ब्रेकिंग न्युज

प्रधानमन्त्री रोजगार कार्यक्रम

बाणगंगामा बेरोजगार व्यवस्थापनदेखि सीप विकास सम्म उल्लेखनीय प्रगति



कपिलवस्तु, बाणगंगा ११ चैत्र
बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन गरेका गतिविधिहरूले स्थानीय तहमा रोजगारी सिर्जना, सीप विकास र वैदेशिक रोजगारसम्बन्धी सहजीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको देखिएको छ। प्रस्तुत तथ्यांकले कार्यक्रमको दायरा मात्र होइन, यसको प्रभावकारिता र बदलिँदो प्राथमिकतालाई समेत स्पष्ट रूपमा देखाउँछ।
सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा बेरोजगारहरूको सूचिकरणमा परिवर्तन देखिएको छ। आ.व. २०८०/०८१ मा ६८० जना सूचिकृत बेरोजगार रहेकोमा २०८१/०८२ मा यो संख्या घटेर ५३५ पुगेको छ। यसलाई रोजगारीका अवसर सिर्जना, वैदेशिक रोजगारमा बढ्दो आकर्षण तथा स्थानीय स्तरमा गरिएका कार्यक्रमहरूको प्रभावको रूपमा विश्लेषण गर्न सकिन्छ।
वैदेशिक रोजगारतर्फ पुनः श्रम स्वीकृति लिनेहरूको संख्या भने उल्लेखनीय रूपमा बढेको छ। २२३ बाट बढेर ३०९ पुगेको तथ्यांकले वैदेशिक रोजगारप्रति निर्भरता अझै कायम रहेको संकेत गर्छ। यद्यपि, यससँगै वैदेशिक रोजगारमा मृत्यु भएका श्रमिकका परिवारलाई शैक्षिक छात्रवृत्ति सिफारिस र क्षतिपूर्ति सहजीकरण जस्ता सामाजिक सुरक्षा कार्यक्रमहरू पनि सञ्चालन गरिनु सकारात्मक पक्ष मानिने नगर उपप्रमुख रिता कुमारी चौधरीको प्रतिक्रिया रहेको छ ।
विशेषगरी, रोजगार मेला तथा विवरण संकलन कार्यक्रममार्फत २०० बाट बढेर २८५ जनासम्म पहुँच विस्तार भएको छ। यसले स्थानीय बेरोजगार र वैदेशिक रोजगारबाट फर्किएका (रिटर्नी) व्यक्तिहरूलाई पुनः समेट्ने प्रयासलाई बलियो बनाएको देखिन्छ।
सीप विकासतर्फ पनि नगरपालिका सक्रिय देखिएको छ। २०८१/०८२ मा ४० जनालाई कार्यस्थलमा आधारित सीप तथा मेसन तालिम प्रदान गरिएको छ भने ९० जनालाई रोजगारीमा खटिनुअघि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। यस्ता कार्यक्रमहरूले दीर्घकालीन रोजगारी सुनिश्चित गर्न मद्दत पु¥याउने अपेक्षा गरिएको छ।

रोजगारी सिर्जना कार्यक्रमअन्तर्गत वडा स्तरमा सञ्चालन भएका योजनाबाट लाभान्वित श्रमिकको संख्या भने ९० बाट घटेर ७१ पुगेको छ। यसलाई बजेट, योजना संख्या वा कार्यान्वयन संरचनासँग जोडेर थप विश्लेषण गर्न आवश्यक देखिएको नगरका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको तर्क रहेको छ ।
त्यसैगरी, श्रमको सम्मान सम्बन्धी अभियान, रोजगार संवाद मञ्च सञ्चालन तथा स्थानीय सरकार–निजी क्षेत्र–सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रमहरूले रोजगारी क्षेत्रलाई संस्थागत र दिगो बनाउन सहयोग पु¥याएका छन्।
कार्यस्थल सुरक्षा पक्षमा पनि ध्यान दिइएको छ। २०८१/०८२ मा ७१ जनालाई सुरक्षा सामग्री वितरण गरिएको तथ्यांकले सुरक्षित श्रम वातावरण निर्माणतर्फ नगरपालिका सचेत रहेको देखाउँछ।
प्रधानमन्त्री रोजगार कार्यक्रम केवल अस्थायी रोजगारी उपलब्ध गराउने माध्यम मात्र नभई, सीप विकास, सामाजिक सुरक्षा र श्रमको सम्मान स्थापित गर्ने समग्र अभियानका रूपमा अगाडि बढ्नुपर्छ। बाणगंगा नगरपालिकाको अनुभवले देखाउँछ कि तथ्यमा आधारित योजना, लक्षित कार्यक्रम र बहुपक्षीय समन्वयबाट मात्र दिगो रोजगारी र आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण सम्भव हुने नगर प्रमुख चक्रपाणी अर्यालको धारणा रहेको छ।

प्रकाशित : ११ चैत्र २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६