खोज–अनुसन्धान

लापसे गरेर सवारी चलाउनेमाथि कञ्चनपुरमा ट्राफिक प्रहरीको कडाइ



कञ्चनपुर, १७ चैतः जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकविरुद्ध कडाइ गरेको छ ।
लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनेमाथि प्रहरीले विशेष जाँच अभियान सञ्चालन गर्दै आएकोे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बालेन्द्र नाथका अनुसार गत कात्तिकदेखि हालसम्म लागुपदार्थ सेवन गरेका २२ जना चालकमाथि कारबाही गरिएको छ । सोही क्रममा हिजो मात्रै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गरिएको छड्के जाँचका क्रममा चार जना चालक लागुपदार्थ सेवन गरेर सवारी चलाउँदै गरेको अवस्थामा फेला परेका छन् । स्वास्थ्य कार्यालय र महाकाली अस्पतालको प्राविधिक सहयोगमा गरिएको जाँचमा १६ जना चालकको परीक्षण गर्दा चार जनाले लागुपदार्थ सेवन गरेको पुष्टि भएको प्रहरी निरीक्षक नाथले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।
उहाँका अनुसार लागुपदार्थ सेवन गरेर सवारी चलाउनु केबल ट्राफिक नियम उल्लङ्घन मात्र नभई गम्भीर अपराध र सार्वजनिक सुरक्षामाथिको खेलबाड हो । लापसे जाँचका लागि प्रहरीले ‘ड्रग डिटेक्सन किट’ प्रयोग गर्ने गरेको छ । “यस प्रविधिमा चालकको ¥यालको नमुना सङ्कलन गरी परीक्षण गरिन्छ । जसबाट चालकले लागुपदार्थ सेवन गरेको वा नगरेको तत्कालै थाहा हुन्छ”, प्रहरी निरीक्षक नाथले भन्नुभयो । सेवन गरेको पुष्टि भएमा लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइँदै आएको छ । यसअघि मादक पदार्थ सेवन (मापसे) को मात्र जाँच हुँदै आएकामा अब चिकित्सकको निगरानीमा लागुपदार्थ सेवन जाँच सुरु गरिएकाले लागुऔषध प्रयोग गरेर सवारी चलाउने चालक कानुनी दायरामा आउन थालेका छन् ।

उहाँका अनुसार लागुपदार्थ सेवन गरेका चालकको स्नायु प्रणालीमा असर पर्ने, निर्णय क्षमता कमजोर हुने, प्रतिक्रिया समय ढिलो हुने र दृष्टिमा भ्रम हुने भएकाले दुर्घटनाको जोखिम अत्यधिक रहने गर्दछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले राजमार्ग क्षेत्रमा महिनामा लागुपदार्थ सेवनबारे दुई–तीन पटक छड्के जाँच गर्ने र साँझको समयमा दैनिक मापसे जाँचलाई निरन्तरता दिने कार्य गर्दै आएको छ ।
“यसले चालकमा सचेतना बढाउनुका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ”, प्रहरी निरीक्षक नाथले भन्नुभयो, “यस कार्यले कारबाहीसँगै सडक सुरक्षाबारे सचेतना फैलाउने काम पनि हुँदै आएको छ ।” सडकमा लापसे जाँच गर्नुको मुख्य उद्देश्य दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उहाँले उल्लेख गर्नुभयो ।
राजमार्गमा हुने दुर्घटना कम गर्न र लागुऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न आगामी दिनमा पनि लापसे तथा मापसे जाँच अभियानलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।

प्रकाशित : १७ चैत्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६