काठमाडौँ, २१ चैतः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका पठाउने भन्दै रु ७३ लाख ७० हजार ठगी गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका–७ का ५२ वर्षीय कर्णबहादुर राउत, जिल्ला तनहुँ भानु नगरपालिका–१२ का ४२ वर्षीय आनन्द थापा, नवलपरासी (पूर्व) कावासोती नगरपालिका–३ की ३९ वर्षीया राधिका पाठक पौडेल तथा मोरङ सुन्दर हरैचा नगरपालिका–३ का ४७ वर्षीय तिलक परियार रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये राउतले फिनल्यान्ड पठाउने भन्दै रु ५७ लाख, थापाले माल्टा पठाउने भन्दै रु चार लाख ५० हजार, पौडेलले फिनल्यान्ड पठाउने भन्दै रु चार लाख २० हजार तथा परियारले सर्विया पठाउने भन्दै रु आठ लाख लिई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।
२२ चैत्र २०८२, आइतबार








प्रतिक्रिया