तौलिहवा, कपिलवस्तु २७ चैत्र
आर्थिक वर्ष २०८१/०८२ मा कपिलवस्तु नगरपालिका नगरकार्यपालिकाले सडक र खानेपानीमा उल्लेख्य उपलब्धी हासिल गरेको तथ्यहरुले पुष्टी गरेको छ । नगरपालिकाबाट सार्वजनिक गरिएको तथ्यांक अनुसार सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत आधारभूत सेवामा व्यापक काम भएको देखिन्छ, जसले नगरबासीको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।
उपलब्ध विवरण अनुसार नगरपालिकाले ४.६ किलोमिटर पक्की सडक निर्माण गरेको छ भने ८.१८ किलोमिटर कच्ची (ग्राभेल) सडक निर्माण गरी ग्रामीण तथा सहरी क्षेत्रबीचको पहुँच विस्तार गरेको छ। साथै ४.२८ किलोमिटर सडक मर्मत सम्भार र ४.२३ किलोमिटर नाली निर्माणले यातायात व्यवस्थापन र सरसफाइमा सुधार ल्याउने संकेत गरेको छ।
खानेपानीतर्फ ३४५ वटा ह्याण्डपम्प जडान गर्नु ठूलो उपलब्धि मानिएको छ। यसले विशेषगरी ग्रामीण बस्तीमा स्वच्छ खानेपानीको पहुँच बढाउने अपेक्षा गरिएको छ। त्यस्तै, ११ वटा बोरिङमार्फत सिँचाइ सुविधा विस्तार हुँदा कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने देखिन्छ।
शिक्षा क्षेत्रमा ४२ वटा विद्यालय तथा सामुदायिक भवन निर्माण÷मर्मत गरिएको छ भने स्वास्थ्यतर्फ ५ वटा अस्पताल, नर्सिङ तथा स्वास्थ्य चौकी स्थापना वा स्तरोन्नति गरिएको छ। यसले सामाजिक क्षेत्रको विकासमा सन्तुलित ध्यान दिइएको देखाउँछ।
सार्वजनिक स्वास्थ्य र सरसफाइका लागि ७ वटा शौचालय निर्माण तथा मर्मत गरिएको छ। साथै आपतकालीन सेवाका लागि २ वटा दमकल र एम्बुलेन्सको व्यवस्था गरिएको छ, जसले विपद् व्यवस्थापन क्षमता सुदृढ बनाएको संकेत गर्छ।
धार्मिक तथा सांस्कृतिक संरचनामा पनि नगरपालिका सक्रिय देखिएको छ। ४३ वटा मन्दिर निर्माण तथा मर्मत गरिएको छ भने २८ वटा कल्भर्ट तथा ह्युमपाइप निर्माणले साना पूर्वाधारलाई समेत प्राथमिकतामा राखिएको देखिन्छ।
समग्रमा हेर्दा कपिलवस्तु नगरपालिकाले पूर्वाधार विकासमा सन्तुलित लगानी गरेको देखिन्छ। सडक र खानेपानी जस्ता आधारभूत आवश्यकतामा बढी ध्यान दिइएको छ, जुन स्थानीय विकासका लागि सकारात्मक पक्ष हो। तर, शौचालय निर्माण संख्या कम हुनु र स्वास्थ्य संरचना अझै सीमित रहनुले केही क्षेत्रमा थप ध्यान आवश्यक रहेको संकेत गर्छ।
नगरपालिकाको यो प्रगति उत्साहजनक भए पनि दीगो विकासका लागि गुणस्तर, समावेशिता र दीर्घकालीन योजना आवश्यक देखिन्छ। पूर्वाधार निर्माणसँगै त्यसको प्रभावकारी उपयोग र मर्मतमा पनि समान ध्यान दिन सकेमा मात्र नागरिकले वास्तविक लाभ अनुभूति गर्न सक्नेछन्।








प्रतिक्रिया