काठमाडौँ, २९ चैत
दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ । आगामी वैशाख २ गतेदेखि देशभर आर्थिक गणनाको काम सुरु हुनेछ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालित भएका छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्ले दोस्रो आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै उद्योग प्रतिष्ठान, उद्योगी व्यवसाय तथा सरोकार भएकाहरूलाई आग्रह गर्नुभएको छ । उहाँले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलनको महत्त्वपूर्ण कार्यमा योगदान गर्न अनुरोध गर्नुभएको छ । सो गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन हुनेछ । गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलनको उद्देश्य राखिएको छ । देशभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिने छ । त्यस्तै, उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ । आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भएको थियो । यस्तै, यही चैतको सुरुमा नै ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएको छ । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । तथ्याङ्क कार्यालयले सबै सरोकार भएकालाई सही र पूर्ण विवरण उपलब्ध गराएर अभियानलाई सफल बनाउन आग्रह गरेको छ । आर्थिक गणना राष्ट्रिय अभियान भएकाले यसमा सबैको सक्रिय सहभागिता जरुरी रहेको कार्यालयले स्पष्ट पारेको छ । यसअघि २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । सो गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेका विवरण सार्वजनिक भएको थियो । —
Powered By Orson Infotech








प्रतिक्रिया