कपिलवस्तु ५ वैशाख
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आर्थिक तथा प्रशासनिक व्यवस्थापनलाई सुदृढ बनाउन विभिन्न ऐन, नियमावली तथा कार्यविधिहरू निर्माण गर्दै संस्थागत विकासतर्फ महत्वपूर्ण प्रगति हासिल गरेको छ। नगरकार्यपालिकाको कार्यालयद्वारा तयार पारिएका कानूनी संरचनाहरूले स्थानीय शासनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने दिशामा स्पष्ट संकेत दिएका छन्।
उपलब्ध तथ्यांकअनुसार नगरपालिकाले हालसम्म कुल ८७ वटा विभिन्न प्रकारका कानूनी दस्तावेज निर्माण गरेको छ। जसअन्तर्गत १८ वटा ऐन, ५ वटा नियमावली, ५१ वटा कार्यविधि, ७ वटा निर्देशिका, ३ वटा मापदण्ड, २ वटा नीति तथा १ वटा आचारसंहिता समावेश रहेका छन्।
विशेषगरी कार्यविधिहरूको संख्या सबैभन्दा बढी (५१) हुनु नगरपालिकाले दैनिक सेवा प्रवाह, प्रशासनिक प्रक्रिया र कार्यक्रम कार्यान्वयनलाई स्पष्ट र व्यवस्थित बनाउन जोड दिएको देखिन्छ। ऐन तथा नियमावली मार्फत दीर्घकालीन नीतिगत ढाँचा तयार पारिएको छ भने निर्देशिका र मापदण्डहरूले कार्यान्वयन पक्षलाई थप व्यवस्थित बनाएका छन्।
यसैगरी, नीति र आचारसंहिताको निर्माणले नगरभित्र सुशासन, पारदर्शिता र नैतिक आचरण प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ। यी कानूनी संरचनाहरूले सेवाग्राही मैत्री प्रशासन निर्माण, निर्णय प्रक्रियामा स्पष्टता र जवाफदेहिताको सुनिश्चिततामा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।
समग्रमा, बुद्धभूमि नगरपालिकाले कानूनी पूर्वाधार निर्माण मार्फत स्थानीय शासन प्रणालीलाई संस्थागत रूपमा बलियो बनाउने दिशामा उल्लेखनीय पहल गरेको छ। यसले आगामी दिनमा सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिकको विश्वास अभिवृद्धि गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ।








प्रतिक्रिया