कपिलवस्तु ८ बैशाख
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ का सेवा प्रवाहका विषयमा नगरपालिकाको भवन अभाव देखि जनशक्ति र प्रविधिलाई मुख्य समस्याका रुपमा लिएको छ।
नगरपालिकाको आफ्नो समिक्षामा सेवा प्रवाहका क्रममा विभिन्न संरचनात्मक तथा व्यवस्थापकीय समस्या रहेको निष्कर्ष निकालिएको छ। नगरकार्यपालिकाको कार्यालयले प्रस्तुत गरेको तथ्यांक अनुसार सेवाग्राहीलाई प्रभावकारी सेवा दिन अझै केही महत्वपूर्ण अवरोधहरू कायम रहेका छन्।
नगरपालिकाले औंल्याएका मुख्य समस्याहरूमा एकीकृत प्रशासनिक भवनको अभाव प्रमुख रहेको छ। एउटै स्थानबाट सेवा दिन नसक्दा नागरिकले विभिन्न शाखा धाउनुपर्ने अवस्था देखिएको छ।
त्यस्तै, कार्यालयका सबै शाखा, उपशाखा तथा वडा कार्यालयबाट हुने कामहरू पूर्ण रूपमा सूचना प्रविधिमा आधारित हुन नसक्दा सेवा प्रवाहमा ढिलाइ र असहजता भइरहेको उल्लेख गरिएको छ।
यसैगरी, दरबन्दी अनुसार आवश्यक कर्मचारी संख्या पूरा नभएकाले कामको चाप बढ्दै गएको र सेवा प्रभावकारितामा असर परेको तथ्य पनि सार्वजनिक गरिएको छ।
नगरपालिकाले यी समस्याहरू समाधान गर्दै सेवा प्रवाहलाई थप सहज, छरितो र प्रविधिमैत्री बनाउने लक्ष्यसहित आगामी योजना अघि बढाउने निश्कर्ष निकालिएको जनाएको छ।








प्रतिक्रिया