कपिलवस्तु, १० वैशाख
कपिलवस्तु जिल्लाले जनस्वास्थ्यको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। जिल्लाका वाणगंगा नगरपालिका र बुद्धभूमि नगरपालिकालाई एकै दिन बुधवार ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन’ घोषणा गरिनु केवल औपचारिक सफलता नभई बाल स्वास्थ्य संरक्षण तर्फको महत्वपूर्ण माइलस्टोनका रूपमा हेरिएको छ। पाँच वर्षमुनिका सबै बालबालिकामा १३ प्रकारका खोपको पहुँच सुनिश्चित भएसँगै यी दुई पालिकाले स्वास्थ्य सुरक्षाको आधारभूत मापदण्ड पूरा गरेका हुन्।

जिल्ला खोप समन्वय समिति तथा नगरस्तरीय संयन्त्रहरूको सहकार्यमा सम्पन्न कार्यक्रममा दुवै नगरपालिकालाई प्रमाण पत्र प्रदान गरियो। कार्यक्रमका संयोजक बाबुराम आचार्यले यो उपलब्धिलाई जिल्लाकै लागि उदाहरणीय बताउँदै पूर्ण खोप सुनिश्चितता जनस्वास्थ्य प्रतिको गहिरो प्रतिबद्धताको संकेत भएको उल्लेख गरे। तर उनले अबको मुख्य चुनौती यस उपलब्धिलाई दीगो रूपमा कायम राख्नु रहेको स्पष्ट पारे।

वाणगंगा नगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले राज्य र समुदायबीचको सहकार्यले मात्र यस्ता उपलब्धि सम्भव हुने बताए। उनले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको समन्वय अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले अभिलेख व्यवस्थापन, नियमित अनुगमन र गुणस्तरीय सेवा प्रवाहलाई सुदृढ नगरे सम्म यस्तो उपलब्धि दीगो नहुने सुझाव दिए।
यस उपलब्धिमा सञ्चार क्षेत्रको भूमिकालाई पनि उत्तिकै महत्वपूर्ण मानिएको छ। नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जनचेतना अभिवृद्धि र सही सूचना प्रवाहले मात्र खोपप्रतिको विश्वास सुदृढ हुने बताए। विशेषतः अफवाह र भ्रमका बीच विश्वसनीय सूचना प्रवाहले समुदायलाई स्वास्थ्य सेवातर्फ आकर्षित गर्न मद्दत पुग्ने उनको भनाइ छ।
उता बुद्धभूमि नगरपालिकामा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानलाई विशेष रूपमा सराहना गरियो। गर्भवती महिला सेवा, संस्थागत प्रसूति, पोषण र सरसफाइसँग जोडिएका कार्यक्रमसँग खोप अभियानलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याइयो। नगरप्रमुख केशवकुमार श्रेष्ठले सामूहिक प्रयासकै परिणाम स्वरूप यो उपलब्धि सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।
पूर्ण खोप सुनिश्चितता घोषणा कुनै एकदिने उपलब्धि होइन। यसले स्वास्थ्य प्रणालीको पहुँच, सेवा वितरणको प्रभावकारिता र समुदायको सहभागिता—तीनै पक्ष सुदृढ भएको संकेत गर्छ। विशेषतः नेपालजस्तो भौगोलिक र सामाजिक विविधता भएको देशमा सबै बालबालिकासम्म खोप सेवा पु¥याउनु आफैंमा चुनौतीपूर्ण कार्य हो।
तर चुनौतीहरू अझै बाँकी छन्। बसाइँसराइ, जनचेतनाको अभाव, अभिलेख व्यवस्थापनको कमजोरी र सेवा पहुँचमा असमानता जस्ता समस्याले दिगोपनमा असर पार्न सक्छन्। त्यसैले नियमित अनुगमन, डिजिटल अभिलेख प्रणालीको विकास, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र समुदायमा निरन्तर जनचेतना कार्यक्रम सञ्चालन अपरिहार्य रहेको बाणगंगा नगरका स्वास्थ्य शाखा प्रमुख ठगप्रसाद पौडेलको भनाई छ ।
कपिलवस्तुका दुई नगरपालिकाले हासिल गरेको यो सफलता अन्य स्थानीय तहका लागि प्रेरणाको स्रोत बन्न सक्छ। तर यसको दिगोपन सुनिश्चित गर्न सरकार, स्वास्थ्यकर्मी, सञ्चार माध्यम र समुदाय—सबैको साझा जिम्मेवारी आवश्यक छ।
पूर्ण खोप सुनिश्चितता केवल एउटा सूचक होइन, यो भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्ने आधार हो। यदि यही प्रतिबद्धता निरन्तर रह्यो भने कपिलवस्तुले मात्र होइन, समग्र देशले नै बालस्वास्थ्य सुधारमा दीगो उपलब्धि हासिल गर्न सक्ने बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालको तर्क छ ।








प्रतिक्रिया